बालबालिकामाथि बुट बजार्ने प्रहरीका हाकिमलाई कारबाही होस्ः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले बाँकेको कोहलपुरमा विद्यालयका स–साना बालबालिकामाथि प्रहरीबाट भएको दमनको निन्दा एवम् भर्त्सना गरेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीको ट्वीटरमा मेन्सन गर्दै कोहलपुर घटनालाई दुःखद भनेका छन् ।

‘अन्तत कैयौं युवा, विद्यार्थी र प्रहरी समेत घाइते हुनु र स्थिति कर्फ्युसम्म पुग्नु दुःखद छ’, उनले भनेका छन्, ‘अनावश्यक बल प्रयोग गर्ने स्थानीय प्रहरीको दोषी नेतृत्वमाथि कार्वाही प्रक्रिया थाल्न, घाइतेको सम्पूर्ण उपचार गर्न र सहज स्थिति निर्माणमा कार्य गर्न प्रधानमन्त्री समक्ष आवस्यक पहलको अपील छ ।’

‘कलम समाउने कलिला हातहरूमाथि किन लाठीको वर्षा ?’, नेपाली कांग्रेसका युवा नेता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु स्वभाविक थियोे ।’

‘संयम गुमाएर प्रहरीले बिद्यालयभित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो’, उनले भनेका छन् ।

कोहलपुरमा आइतबार ट्रकले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीले प्रदर्शन गरेका थिए । प्रहरीको स्थानीय नेतृत्वले संयमता गुमाउँदा स्थिति झन् उत्तेजित बनेर कर्फ्युको अवस्था सिर्जना भएको छ ।

Published : Monday, 2019 December 9, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया