चीनले दियो नेपालविरुद्ध विवादास्पद वक्तव्य, भारतलाई राहत

काठमाडौं । भारतले नेपालको कालापानीलाई नयाँ नक्सामा गाभेको विषयमा चीनले प्रतिक्रिया दिएको छ ।

बिहीबार चीनले प्रतिक्रिया सार्वजनिक गर्दै कालापानीको विवाद मैत्रीपूर्ण परामर्श र सम्वादका आधारमा नेपाल–भारतले समाधान गर्ने सदिच्छा व्यक्त गरेको छ ।

चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको पनि स्पष्ट पारेको छ ।

नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दूका सम्बन्धमा भने चीनले बोलेको छैन ।

चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् । चिनियाँ पक्षले सधैँ नेपाली पक्षको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको छ ।’

चीनबाट नेपाली भूभाग मिचिएको समाचार र टिप्पणिप्रति चिनियाँ दुतावासले असन्तोष पोखेको छ ।

‘केही गैरजिम्मेबार मिडिया र व्यक्तिहरूले नेपाली भूमि चीनबाट अतिक्रमित भएको दाबी गरिरहेका छन्’, चिनियाँ राजदूतावासले भनेको छ, ‘यी आरोप आधारहीन छन् र जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ ।’

नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमासन्धीको पृष्ठभूमि उल्लेख गर्दै दूतावासले त्यही आधारमा सीमा तय भएको र सीमांकन भएको पनि चीनले भनेको छ ।

‘वर्षौं यता नेपाल र चीनबीच सीमा तथा सुख्खा बन्दरगाहका बिषयमा राम्रो सहकार्य हुँदै आएको छ’, चिनियाँ विज्ञप्तिमा भनिएको छ, ‘यो वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपतिले सफल राजकीय भ्रमण गर्नुभएको छ । त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।’

‘चीनले बाह्य हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ’, चीनले भनेको छ, ‘नेपालसँग साझा विकास प्रवर्द्धन गर्न पनि चीनले चाहेको छ । नेपाल चीन सम्बन्धलाई कमजोर पार्ने कसैको प्रयास सम्भव हुनेछैन ।’

चीनले दिएको वक्तव्यले नेपाललाई राहत दिनेभन्दा पनि भारतलाई राहत मिलेको चर्चा भएको छ । चीनले लिपुलेकबारे एक शब्द पनि नबोल्नुलाई रहस्यका रुपमा हेरिएको छ ।

Published : Thursday, 2019 November 14, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया