रामेछापमा नेकपाका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश, कम्युनिस्टलाई औकात देखाइदिने

मन्थली । रामेछाप जिल्लाा स्थानीय निकायको उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ जना वडाध्यक्षका दावेदार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितीको वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाले टिकट नदिएको भन्दै उनीहरूले पार्टी छाडेका हुन् ।

वडाध्यक्षको टिकटका दाबेदार पदमबहादुर तामाङ र चित्रबहादुर तामाङ सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेको रामेछाप कांग्रेसले जनाएको छ ।

दुबैलाई गाउँ ईकाइ कमिटीले वडाध्यक्षका उम्मेदवारका लागि सिफारिश गरेर जिल्ला कमिटीमा पठाएको थियो ।

नेकपा जिल्ला कमिटीले वडाध्यक्षमा कुलबहादुर बस्नेतको नाम सिफारिश गरेपछि असन्तुष्ट रहेका वडाध्यक्षको टिकट दावेदार २ जना तामाङ नेतासहित १० जना एकैसाथ नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापले जनाएको छ ।

‘पार्टीमा रहेर विगतमा एमालेका नाममा १५ वर्ष ठूलै संघर्ष गरियो तर पार्टीले मूल्यांकन नगरेकोले अबको राजनैतिक यात्रा कांग्रेसमा रहेर अघि बढाउने निर्णय सहित कांग्रेसमा प्रवेश गरेको छु’, पदमबहादुर तमााङले भनेका छन् ।

उनले उपनिर्वाचनमा नेकपाका उम्मेदवारहरूलाई हराएर नेपाली कांग्रेसलाई विजयी बनाउने बताए ।

आफूहरू आसन्न निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई जिताउन लागि पर्ने र भोलिका दिनमा पनि कांग्रेसमा रहेर सक्रिय राजनीति गर्ने तामाङद्वयले बताए ।

यो वडामा नेपाली कांग्रेसले भने सावित्री सुनुवारलाई वडाध्यक्षमा टिकट दिएको छ ।

वडामा यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष कुवीर खत्रीले कोसीमा हामफालेर आत्महत्या गरेका कारण पुनः निर्वाचन हुन लागेको छ ।

Published : Tuesday, 2019 November 12, 8:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया