कांग्रेसले बनायो निर्वाचन अनुगमन र समन्वयका लागि समिति

काठमाडौं । नेपाली कांग्रेसलले उपनिर्वाचनलाई लक्षित गरे ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ ।

नेपाली कांग्रेसद्वारा आइतबार जारी विज्ञप्तिअनुसार केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदस्यीय समन्वय समिति गठन गरेको हो ।

उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धांधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न पार्टीको विधान बमोजिम ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल र अधिवक्ता केशव रिजाल सदस्य रहेका छन् ।

समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमनसँगै उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने मुख्य सचिव पौडेलले बताए ।

उनका अनुसार समितिले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गरेर आवश्यक निर्देशन दिने पनि जानकारी दिएका छन् ।

उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी समितिले निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने, उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरूलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने पनि समितिले जिम्मेवारी पाएको छ ।

समितिले उपनिर्वाचनको क्रममा पार्टीको उम्मेदवार, निकाय र सदस्यहरूबाट निर्वाचन कानून र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचन सम्बन्धी कानून वा आचारसंहिता उल्लंघन भएमा उचित कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउने पनि बताइएको छ ।

Published : Sunday, 2019 November 10, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया