कांग्रेस मुख्यालयमा कम्युनिस्टलाई हराउने रणनैतिक बैठक, महामन्त्रीले दिए निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जिताउन कसरी अगाडि बढ्ने भन्ने विषयमा भ्रातृ संस्थाका अध्यक्ष र पदाधिकारीहरूसँग परामर्श गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउने विषयमा छलफल गरेका हुन् । छलफलमा १४ भ्रातृ संस्थाहरूका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँका अनुसार उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन प्रचार प्रसारमा खटिने निर्णय भएको छ ।

महामन्त्री खड्काले उपनिर्वाचनमा सबै तिक्तताहरू भुलेर कम्युनिस्टहरूलाई पराजित गर्ने गरी खटिन निर्देशन दिएका छन् ।

‘दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनतालाई दुःख दिएको छ । जनताको अभिमतको दुरुपयोग भएको छ’, महामन्त्री खड्काको निर्देशन उदृत गर्दै तरुण दलका उपाध्यक्ष चापागाइँले भने, ‘उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाएर कम्युनिस्टहरूको दम्भ तोड्नु पर्छ ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचन जितेर कांग्रेसले सरकार बनाउने कुरा नहुने भन्दै कम्युनिस्टहरू दम्भ तोड्नकै लागि निर्वाचन जित्नुपर्ने बताए ।

छलफलमा सहभागीहरूले पार्टीका उम्मेदवारहरूलाई जिताउन खटिने आश्वासन दिएका थिए । उनीहरूले कम्युनिस्टहरूको घमण्ड तोड्ने आफूहरूको एकमात्रै उदेश्य रहेको बताएका छन् ।

बैठकमा महामन्त्री खड्का, प्रवक्ता शर्मा, कांग्रेसको केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्ण पौडेल, नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँ, नेपाल तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, धना खतिवडा, सरस्वती तिवारी, योगेन्द्र अधिकारी, प्राध्यापक जगत तिम्सिना, तीर्थ थापा लागायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2019 November 9, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया