गाई धपाउन १४ अर्ब ऋण नलिन ओलीलाई विश्वप्रकाशको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्माले स्वरोजगारका नाममा गाई धपाएर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राज्यको ढुकुटी सिध्याउन थालेपछि चिन्ता जनाएका छन् ।

शुक्रबार शर्माले ट्वीट गर्दै रोजगारी सिर्जना गर्न नयाँ कार्य गर्न कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘१४ अर्ब ऋण नथप्नुस् । सम्माननीय प्रधानमन्त्रीज्यू । केही नयाँ गर्नुस् ।’

शर्माले कम्युनिस्ट सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘रोजगारी सृजना यसरी कि त्यसरी ? खुला बहस गरौं !’

‘नेपाली कांग्रेसको नीतिका कारण कयौं बैंक, दर्जनौं अस्पताल, सयौं मिडिया, लाखौं सहकारी र थुप्रै एयरलाइन्स खुले’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले ट्वीटमा भनेका छन्, ‘हजारौं रोजगारी थपियो । वैदेशिक रोजगारीको ढोकापनि खोलियो । गाई धपाउन चौध अर्ब ऋण नथप्नोस् । सम्माननीय । केही नयाँ गर्नोस् ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले रोजगारीका नाममा आफ्ना पार्टीका कार्यकर्तालाई झार उखेल्ने, गाई धापाउने लगायतका कार्य गर्न लगाई राज्यको ढुकुटी रित्याएको भन्दै आलोचना भइरहेको छ ।

कम्युनिस्ट सरकारले फेरि रोजगारीका नाममा अमेरिकासँग १४ अर्ब रुपियाँ ऋण लिने मन्त्रिपरिषदको बैठकपछि गरेपछि नेपाली कांग्रेसका प्रवक्ता शर्माले विरोध गर्दै गाई धपाएर कार्यकर्तालाई पैसा बाँड्न ऋण नलिन सुझाव दिएका हुन् । उनले रचनात्मक र नयाँ कार्य गर्न ओलीलाई सुझाव दिएका छन् ।

Published : Saturday, 2019 November 9, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया