चियापानमा सहभागी हुन तरुण दलको आह्वान, काठमाडौंमा बस्यो तयारी बैठक

काठमाडौं । नेपाल तरुण दलले आफ्नो ६६औँ स्थापना दिवसलाई भव्य र सभ्य बनाउन गृहकार्य शुरु गरेको छ ।

नेपाल तरुण दलको केन्द्रीय कार्यालय काठमाडौंमा सोमबार बसेको केन्द्रीय कार्यसमिति र उपत्यकाभित्रका तीन जिल्लाका अध्यक्षसहितका पदाधिकारीहरूको संयुक्त बैठकले स्थापना दिवसको तयारी गरेको हो ।

भक्तपुर, ललितपुर र काठमाडौंका जिल्ला अध्यक्ष र प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले चियापान र शुभकामना आदान प्रदान कार्यक्रमलाई सफल बनाउन निर्देशन दिए ।

चियापान कार्यक्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरूको उपस्थिति रहने भन्दै अध्यक्ष बस्नेतले कार्यक्रमलाई अनुशासित र सभ्य बनाउन निर्देशन दिएको उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए । चियापान कार्यक्रममा सहभागी हुन लोकतन्त्रप्रति आस्था राख्ने सबैलाई आह्वान गरिएको चापागाइँले बताए ।

अध्यक्ष बस्नेतले तरुण दलको भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला कार्यसमितिलाई विशेष तयारी गर्न निर्देशन दिएका छन् ।

बैठकमा तरुण दल भक्तपुरका राजु थापा, ललितपुर तरुण दलका अध्यक्ष शिवराम महर्जनको उपस्थिति रहेको थियो । बैठकमा तरुण दलका अध्यक्ष कृष्णजी खड्का अनुपस्थित रहेका थिए ।

काठमाडौं तरुण दलका अध्यक्ष खड्काले चियापान कार्यक्रमको दुई वटा तयारी बैठकमा अनुपस्थिति जनाइसकेका छन् । सोमबारको बैठकमा खड्काले प्रतिनिधि पठाएका थिए ।

तरुण दलको चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक काेइराला, नेता कृष्णप्रसाद सिटौला, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँण लगायतका नेताहरू सहभागी हुनेछन् ।

नेपाल तरुण दलले काठमाडौं उपत्यकाको हकमा ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्नेछ ।

राजधानी उपत्यका बाहिरका सबै ७४ जिल्लामा तरुण दल जिल्ला कार्यसमितिहरूले चियापान कार्यक्रम गर्नुपर्नेछ ।

नेपाल तरुण दलले कात्तिक १० गते आफ्नो ६६औँ स्थापना दिवस गर्दै छ । ललितपुरको सानेपामा बिहान ८ आठ बजे चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम हुनेछ ।

नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आफ्नो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, तरुण दलका पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, पार्षद्, मजदुरलगायतलाई उपस्थित हुन आह्वान गरेको छ ।

Published : Monday, 2019 October 21, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया