महरा पाँच दिन थुनामै बस्ने, क्याबिनको दैनिक खर्च कति ?

काठमाडौं । अकार्की पत्नी समेत रहेकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का निलम्बित सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गरिदिएको छ ।

महरालाई प्रहरीले आइतबार साँझ जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो । अदालतले महरालाई अरु पाँच दिन हिरासतमा राख्न प्रहरीलाई आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी पाँच दिन थप थुनामा राख्ने आदेश दिएको छ ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि महराले यसअघि नै सभामुख पद गुमाइ सकेका छन् ।

यसअघि अनुसन्धान गर्न दिइएको १३ दिनको म्याद सकिएपछि अदालतले फेरि अनुसन्धानका लागि प्रहरीलाई पाँच दिनको म्याद थप गरिदिएको छ ।

महराले आइतबारदेखि सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान दिन थालेका छन् ।

बिरामी भएको भन्दै काठमाडौंको थापाथलीस्थित महँगो निजी अस्पताल नर्भिकको क्याबिन लिएर उपचार गराउँदै आएका महरालाई काठमाडौं जिल्ला अदालतमा म्याद थप गरेपछि प्रहरीले पुनः नर्भिक अस्पतालमा पुर्‍याएको छ ।

महरा नर्भिक अस्पतालको सुविधा सम्पन्न क्याबिन बुकिङ गरेर उपचार गराउँदै आएका छन् । नर्भिक अस्पतालमा महरा बस्ने क्याबिनको दैनिक खर्च दश हजारभन्दा बढी रहेको स्रोतको भनाइ छ ।

Published : Sunday, 2019 October 20, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया