ललितपुरमा कांग्रेसले धेरै विकास गरेको छः राणा

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले खेल क्षेत्रका लागि आफूले छुट्याएको बजेट दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कटौती गरेको भन्दै आक्रोश पोखेका छन् ।

ललितपुर क्षेत्र नं. १ को बागमती गाउँपालिकामा बुधबार गाउँपालिका खुला अध्यक्ष फुटबल प्रतियोगिताको उदघाटन गर्दै राणाले ललितपुरका विभिन्न स्थानमा आफूले खेलकुदको विकासका लागि बजेट छुट्याएको बताए ।

‘मेरो पालामा बागमती गाउँपालिकाको खेल मैदान बनाउन बजेट छुट्याएको थिएँ’, उनले भने, ‘यो सरकारले कटौती गरिदिएको छ । यो सरकार खेलकुद विरोधी हो ।’

आउँदै गरेको १३औँ साग गेमको तयारी पनि राम्रोसँग गर्न नसकेको भन्दै राणाले खेलाडी र खेल क्षेत्रका व्यक्तिहरू समेत सरकारसँग निराश भएको बताए ।

सो क्षेत्रका पूर्वसांसद समेत रहेका राणाले कांग्रेसको पालामा ललितपुर जिल्लामा धेरै विकास भएको बताए ।

‘कांग्रेसको पालामा ललितपुर जिल्लामा धेरै विकास भएको थियो । बजेट पनि धेरै ल्याएका थियौँ’, उनले भने, ‘अहिलेका कम्युनिस्ट जनप्रतिनिधिहरूले निर्वाचनमा दिएको आश्वासन जतिको पनि काम गरेका छैनन् ।’ कम्युनिस्टहरू गफाडी मात्रै भएको उनको आरोप थियो ।

फुटबल प्रतियोगिताको उद्घाटन पूर्वअर्थ राज्यमन्त्री राणाले गरेका थिए ।

कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिर,े वडाध्यक्षहरू जगतबहादुर लों, विजयकुमार लों, विष्णुप्रसाद तिमल्सिना, नारायण घले, साजन दर्लामी, लालबहदुर बोम्जन, नवराज सञ्जेल, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रभाकर पोखरेल, ललितपुर महानगरपालिका कांग्रेसका सचिव ध्रुब खनाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा मकवानपुर, काभ्रे जिल्लाका विभिन्न क्लबका २२ टिमको सहभागिता रहेको छ ।

कार्यक्रमको सभापतित्व बागमती गाउँपालिका खेलकुद विभाग प्रमुख बुद्धराज नेगीले गरेका थिए ।

प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ । प्रतियोगितामा करातेका खेलाडीहरूले डेमोष्ट्रेशन देखाएका थिए ।

Published : Wednesday, 2019 October 16, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया