कांग्रेसको मुख्यालयमा ओलीको भव्य स्वागत, देउवा–पौडेलको प्रशंसा

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथि पर्न नदिने बताएका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार, नेपाल सम्वत, छठसहितका विभिन्न चाडपर्वको अवसरमा ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक मूल्य र मान्यताप्रति आफू प्रतिवद्ध रहेको बताएका हुन् ।

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल ४५ वर्ष देखिका आफ्ना साथी भएको स्मरण गरे ।

उनले आफ्नो लोकतन्त्रप्रतिको निष्ठा देउवा र पौडेललाई राम्ररी जानकारी भएको बताए ।

‘शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्षदेखिका साथी हुनुहुन्छ’, ओलीले भने, ‘उहाँहरूलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथि हुन दिन्न ।’

प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए ।

‘यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरूबीचको कटुतालाई पनि अन्त्य गर्छन्’, ओलीले भने, ‘अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।’

प्रधानमन्त्री ओलीलाई चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउवासहितका नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए ।

Published : Sunday, 2019 October 13, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया