कांग्रेसको चियापानको तयारी पूरा, स्वयं सेवक दिनभरि खटिए (तस्वीर)

काठमाडौं । नेपाली कांग्रेसले दशैँ, तिहार, छठसहितका पर्वहरूको उपलक्ष्यमा हरेक वर्ष गर्दै आएको शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रमको तयारी पूरा भएको जनाएको छ ।

तयारी स्वरुप नेपाल तरुण दलले शनिबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा झण्डा राख्ने, मञ्च बनाउने, सरसफाइदेखि गेट बनाउनेसम्मका कार्य गरेको छ । तरुण दलका स्वयं सेवकहरूले दिनभरि पार्टी कार्यालयमा चियापान कार्यक्रमको पूर्व तयारी गरेका हुन् । नेपाल महिला संघसहितका भ्रातृ संस्थाका स्वयं सेवकले पनि दिनभरि पार्टी कार्यालयमा काम गरेका थिए ।

चियापानको तयारीका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, काठमाडौं–भक्तपुर–ललितपुरका जिल्ला सभापतिलगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले आइतबार सानेपामा शुभकामना आदान–प्रदानका लागि चियापान कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रम दिउँसो दुई बजेदेखि पाँच बजेसम्म हुनेछ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका साथै विभिन्न राजनीतिक दल, कर्मचारी, व्यापारी, मजदुर, कलाकार, सरकारका मन्त्री, सांसदलगायतलाई निम्तो दिइएको छ ।

चियापान कार्यक्रममा सहभागी हुन आउनेलाई खुवाउने परिकारहरू शनिबारदेखि नै बनाउन शुरू भएको छ ।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा नेपाली कांग्रेसको जिल्ला कार्यसमितिहरूले अनिवार्य रुपमा चियापान कार्यक्रम गर्नेछन् । त्यसको तयारी जिल्ला कार्यसमितिहरूले आ–आफ्नो तरिकाले गरेका छन् ।

Published : Saturday, 2019 October 12, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया