चिनियाँ राष्ट्रपति काठमाडौं नआउँदै धरपकड, डरायो सरकार

राजविराज । चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणका बेला सम्भावित विरोधलाई ध्यानमा राखेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले धरपकड शुरु गरेको छ ।

झण्डै दुई दर्जन तिब्बती शरणार्थीलाई पक्राउ गरिसकेको सरकारले सत्तारुढ समाजवादी पार्टीकी नेतृलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिता साह रहेकी छिन् । उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि चीनका विदेशमन्त्री नेपाल आउँदा साहले बिरोध प्रदर्शन गरेकी थिइन् । साहले फेरि पनि विरोध प्रदर्शन गर्ने आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी अध्यक्ष समेत रहेकी साहलाई शुक्रबार राजविराज ६ स्थित घरबाटै पक्राउ गरिएको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा साहलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकी साहलाई काठमाडौं पठाइने उनले बताए ।

चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् ।

२३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुर्व्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागी साहसहित १० जनाबिरुद्व अभद्र व्यहारको मुद्दा चलाइएको थियो । सोही घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि चीनका राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकी साहले आफ्नो फेसबुकमा चीनका राष्ट्रपति नेपाल आउन लाग्दा नेपाल सरकारले गरिरहेको खर्चको विरोधसमेत गरेकी थिइन् ।

Published : Friday, 2019 October 11, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया