कांग्रेसका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र ईकाइ सभापतिहरूलाई प्रशिक्षण

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न चरणमा प्रशिक्षणका कार्यक्रमहरू गर्दै आएको छ ।

गत वर्ष प्रतिष्ठानले नेपाली कांग्रेसबाट स्थानीय तह (नगरपालिका) मा विजयी प्रमुख र उपप्रमुखहरूका लागि प्रशिक्षण कार्यक्रम गरेको थियो ।

त्यसैको निरन्तरता स्वरुप नेपाली कांग्रेसबाट गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहित सम्वन्धित गाउँपालिकाका नेपाली कांग्रेसका ईकाइ सभापतिका लागि संयुक्त रुपमा प्रशिक्षण कार्यक्रम राखिएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा देशका सबै जिल्लाहरूलाई परिपत्र समेत गरिसकिएको नेपाली कांग्रेसले जनाएको छ ।

कार्यक्रम कात्तिक १ र २ गते कृषि विकास बैंकको तालिम केन्द्र बोडे, मध्यपुर थिमी नगरपालिका, भक्तपुरमा बिहान ८ बजे हुनेछ ।

कार्यक्रमका लागि नेपाली कांग्रेसका तर्फबाट ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ्ग संयोजक रहेको सहयोग समिति गठन गरिएको पनि जनाइएको छ ।

प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरूसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ ।

गाउँपालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघ बीच सम्बन्ध र साझा अधिकार, योजना र बजेट तर्जुमा, स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी ईकाइ कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरूकालागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरूले सामना गरिरहेका समस्याहरू, नेपाली कांग्रेसको विधान, राजनीतिक र आर्थिक नीतिहरूबारे संक्षिप्त जानकारी, संघीय सरकारका असफलताहरूबारेमा प्रशिक्षण र कार्यपत्रहरू पेश हुनेछन् ।

केन्द्रमा सम्पर्क व्यक्तिका रुपमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, सदस्य राजु नेपाल, प्रतिष्ठानका सचिव मुक्ति आचार्य, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा र इन्द्रवती गाउँपालिका अध्यक्ष वंशालाला तामाङ रहेका छन् ।

Published : Thursday, 2019 October 10, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया