‘अरिँगाल’हरूलाई सुध्रिन भक्तपुर तरुण दलले दियाे चेतावनी

भक्तपुर, १६ असोज । नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिले सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूमा अधिनायकवादी चरित्र हावी भन्दै सुध्रिन चेतावनी दिएको छ ।

तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले विज्ञप्ति जारी गरेर नेकपाका अराजक कार्यकर्ता र नेताहरूलाई समयमा सुध्रिन सुझाव दिएका हुन् । यस्तै हर्कत जारी रह्यो भने तरुण दलले कडा कदम उठाउन बाध्य हुने चेतावनी थापाले दिएका छन् ।

नेकपाका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाललाई तनहुँमा अभद्र र अराजनीतिक क्रियाकलाप गर्दै हर्कत देखाएपछि तरुण दल भक्तपुरले विरोध गरेको हो ।
अध्यक्ष थापाले भनेका छन्, ‘नेपाली कांग्रेस लोकतन्त्रको लागि राणा, राजा फालेको सर्वभौमसत्ता सम्पन्न जनताले निर्वाध रुपमा बोल्न हिँड्न पाउन् भन्नका लागि हो ।’

‘पञ्चायतका मण्डले शैलीभन्दामाथि गइ दिनानुदिन नेकपाका कार्यकर्ताले फाँसीवाद र अधिनायकवाद शैलीमा भएको आक्रमणको घेर भर्तसना गर्दछौं’, भक्तपुर तरुण दलको विज्ञप्तिमा भनिएको छ, ‘सत्ताको चरम दुरुपयोग गरी आम जनमानसको अभिव्यक्ति स्वतन्त्रता र निर्वाध रुपमा कार्यक्रम गर्नपाउने व्यवस्थामाथि प्रहार गर्दै जान लागिपरेका छन् ।’

‘यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौं’, तरुण दलले भनेको छ, ‘अन्यथा जिल्ला व्यापी रुपमा कडाभन्दा कडा आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौँ ।’

Published : Thursday, 2019 October 3, 8:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया