काठमाडौंमा ज्ञानेन्द्र शाहीको उजुरी दर्ता भएन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीको उजुरी लिन अस्वीकार गरेको छ ।

आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै काठमाडौं प्रहरीले शाहीका समर्थकलाई चितवन गएर उजुरी दिन सुझाव दिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताको आक्रमणबाट शाहीलाई भरतपुरमा चोटपटक लागेको थियो ।

पूर्वजानकारी हुँदा हुँदै चितवन प्रहरीले सर्तकता नअपनाउँदा नेकपाका अरिँगालहरूले शाहीलाई बसभित्रै रड, ढुंगा, ईट्टाले भौतिक आक्रमण गरेका थिए ।

शाही आवद्ध ‘नेपालका लागि नेपाली’ अभियानले मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिन खोजेपनि प्रहरीले चितवनको घटना भएको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।

देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा जानेक्रममा शाहीमाथी आक्रमण भएको थियो । काठमाडौं प्रहरीले चितवनमै गएर जाहेरी दिन भनेको अभियानका एक सदस्यले जानकारी दिएका छन् ।

शाहीको तर्फबाट अभियानका सदस्यहरू प्रहरी समक्ष जाहेरी दिन पुगेका थिए ।

Published : Wednesday, 2019 October 2, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया