मेलम्ची घाेटालामा बिना मगरका दाईकाे नाम जाेडियाे, प्रचण्डका ज्वाइँलाई भैंसेपाटीमा घर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी समेत रहेकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरका अघोषित सल्लाहकार भाईकाजी घिमिरेले करोडौँ घोटला गरेको समाचार बाहिर आएको छ ।

मेलम्चीको ठेकेदारलाई हटाएर नयाँ ठेकेदार भित्र्याउन सफल भएका घिमिरेले प्रचण्डका घरज्वाइँ जीवन आचार्य र छोरी गंगा दाहालसँग उठबस रहँदै आएको छ ।

स्रोतका अनुसार घिमिरेले आचार्यलाई ललितपुरको भैँसेपाटीमा घर सम्पत्ति जोडिदिएको कुरा पनि नेकपाभित्र चर्चाको विषय बनेको छ ।

स्रोतका अनुसार मेलम्चीको काम बिथोलेर नयाँ ठेकेदार भित्र्याएवापत बिना मगरका घिमिरेले आचार्यलाई सम्पत्ति जोडिदिएका हुन् ।

बिना मगरसँग तिहारको टीका लगाएको साइनो रहेका घिमिरेले खानेपानी मन्त्रालय आफ्नो कब्जामा राखेको मन्त्रालयका कर्मचारीहरु नै बताउँछन् ।

उनै घिमिरेले सचिव गजेन्द्र ठाकुरलाई सरुवा गर्नुका साथै विभिन्न दुःख दिएको समेत आरोप लागेको थियो । ठाकुरसँग लेनदेनमा कुरा नमिलेपछि घिमिरेले उनलाई मन्त्रालयमा सचिव बनाएर नराखेको स्रोतले जनाएको छ ।

घिमिरे आफूले पनि राजधानीभित्र झण्डै बीस करोड बराबरको महल बनाएको चर्चा खानेपानी मन्त्रालयभित्र छ । घिमिरे मन्त्रालयभित्र प्रवेश गर्नेवित्तिकै कर्मचारीहरू आतंकित हुन्छन् ।

खानेपानी मन्त्री बिना मगरको कार्यसम्पादन र अघोषित सल्लाहकारको हर्कतबाट आजित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीबाट हटाउन प्रचण्डसँग प्रस्ताव गरेका थिए ।

मन्त्री बिना मगरलाई हटाउन प्रचण्ड पनि तयार भएका थिए । आफूलाई हटाउन लागेको जानकारी पाएपछि बिना मगरले सासु सीता दाहाललाई भनेर थमौती गरेको स्रोतले जनाएको छ । प्रचण्डकी पत्नी सीता दाहालकै दवावमा बिना मगर मन्त्री बनेकी थिइन् ।

स्वर्गीय साकार दाहाल ‘प्रकाश’लाई विभिन्न लतबाट सुधार गरेको भन्दै सीता दाहालले बिना मगरलाई मन पराउँछिन् । सीता दाहालको माया पाएर पुलपुलिएकी मगरले मन्त्रालयमा भने कुनैपनि काम राम्रोसँग गर्न सकेकी छैनन् ।

मेलम्चीभित्रको विवाद र भ्रष्टाचारको कुरा दिनदिन पत्रपत्रिकामा आइरहेका छन् । बिना मगरकै कारण दुईतिहाइको बलियो कम्युनिस्ट सरकार संकटमा परेको छ । तर, उनी मन्त्रालयमा अड्डा जमाएर बसेकी छिन् ।

त्यति मात्रै होइन मन्त्री मगरले आफ्नै बदनाम घरबेटी शारदा अधिकारीलाई मेलम्चीको ठेक्का दिएकी छिन् । त्यसपछि त झन् उनको नियतमाथि थुप्रै प्रश्नहरू उब्जिएका छन् ।

काठमाडौं उपत्यकाभित्र थुप्रै सडक र खानेपानीका योजनाहरू ठेक्का लिएर विगत दश वर्षदेखि ठेकेदार अधिकारीले काम नै नगरी ओगटेर बसेका छन् ।

प्रचण्ड र उनको परिवार तिनै बदनाम ठेकेदार अधिकारीको खुमलटारको घरमा बस्दै आएको छ । खानेपानी मन्त्री बिना मगरपनि सोही घरमा बस्छिन् ।

Published : Monday, 2019 September 30, 2:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया