मोस्ट वान्टेड पूर्वमन्त्रीले घर कब्जा गरेपछि…

काठमाडौं । उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद सजाय तोकेपछि फरार रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले आफैंले बिक्री गरेको घर पुनः कब्जा गरेका छन् ।

राजनीतिक आवरणमा गुण्डागर्दी, अपहरण र फिरौतीको धन्दा चलाउँदै आएका गुप्ताले आफैंले विक्री गरेको घर पुनः कब्जा गरेर खरिदकर्तालाई विचल्ली पारेका हुन् ।

कुनै बेला सांसद र आपूर्तिमन्त्री समेत रहेका गुप्ता जतिबेला ब्यापारी पवन संघाई अपहरण काण्डमा जेल परे, उनलाई जेलबाट निकाल्न रकम चाहिएको भन्दै उनका छोराहरू क्रमशः राकेश, सुधिर र भाष्कर गुप्ताले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ मा रहेको घरजग्गा राजीनामा पास गरेर गत २०७२ साल बैशाख २८ गते बिक्री गरेका थिए ।

पछि डन गुप्ता जेलबाट निस्किए, उनको घरजग्गा किन्ने सिन्धुपाल्चोकका ब्यवसायी रेशम पाख्रिनलाई पटक–पटक भेटे । छोराहरुले दिएकै मुल्यमा घर फिर्ता गर्न दबाब दिन थाले । गुप्ताले पाख्रिनलाई सुटर लगाएर ज्यान मार्नेसम्म धम्की दिए ।

तर घर खरिद गर्ने पाख्रिनले चलनचल्तीको मुल्य पाए मात्र घर फिर्ता दिने अडान लिए । पछि गुप्ताले पाख्रिनलाई नै झुटा मुद्दामा फसाए । पीडित पाख्रिन जेलमा परेको बेला जालसाक्षी गरेर गुप्ताले घर फिर्ता लिन खोजेका थिए । तर, ललितपुर प्रहरी परिसरका तत्कालिन एसएसपी रविन्द्र धानुकले रुपेन्देहीका एसपीलाई फोन गरेपछि घर बिक्री हुनबाट बचेको थियो ।

त्यो अस्त्र पनि असफल भएपछि हालसालै गुप्ताले उनको घरपरिवारका सदस्यहरुलाई उचालेर अंश मुद्दा हाल्न लगाएका छन् । त्यतिले मात्र नपुगेर उक्त घरको भाडामा बस्नेहरुलाई समेत पीडित पाख्रिनका विरुद्ध मुद्दा हाल्न लगाए । तर, अदालतले भने पीडित पाख्रिनको पक्षमा फैसला गरिदिएको छ ।

डन गुप्ताको घरजग्गा खरिद गर्ने पाख्रिनले अहिलेसम्म पनि उक्त घरको भाडा रकम उठाउन पाएका छैनन्, जबकि उक्त घर पाख्रिनकै नाममा छ । पीडित पाख्रिनले भने, ‘घर मेरो नाममा छ । तर आफ्नो घर कब्जा गरेर गुप्ताले भाडा उठाउँदै आएका छन् । घरखाली गर्न विभिन्न सुरक्षा निकाय, नगरपालिकालगायतमा निवेदन दिएको छु ।’

त्यसैगरी, भैरहवाका प्रशान्त मणिलाई पनि गुप्ताले फसाएका छन् । गुप्ताले घर पास गरिदिने भन्दै प्रशान्त मणिसँग २ करोड १० लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि न गुप्ताले घर पास गरे, न त जमिन नै पास गरिदिए । भोली–भोली भन्दै गुप्ताले टार्दै गए । अन्ततः आफ्नै छोराहरुलाई अंश मुद्दा हाल्न लगएर जग्गा बिक्री नै गरेनन् । पीडित प्रशान्त मणिले अहिलेसम्म रकम नपाएको बताए ।

अहिले पाख्रिनजस्तै प्रशान्त मणि पनि घर न घाटका भएका छन् । प्रशान्त मणि पछि अदालतको शरणमा पुगे । अदालतले साँवा–ब्याज पाउने फैसला गरिदियो । तर, डन गुप्ता त्यसका विरुद्ध उच्च अदालत पुगे ।

उच्च अदालतले भने ब्याज दिनुनपर्ने भन्दै डन गुप्ताको पक्षमा फैसला गरिदियो । तर पीडित प्रशान्त मणिले अहिलेसम्म साँवा रकम नै पाएका छैनन् । उनको घर खरिद गर्ने पीडित पाख्रिनलाई त गुप्ताले झुटा मुद्दा लगाएर विना कसुर ८ महिना थुनाइदिए । तर सत्यको सधैं जीत हुन्छ भने झैं ८ महिनापछि उनलाई जिल्ला अदालत ललितपुरले सफाई दिएको छ ।

अपहरण, फिरौती काण्डमा जेल सजाय काटिसकेका गुप्तालाई गत भाद्र १२ गते उच्च अदालत पाटनले ब्यापारी पवन संघाई अपहरण काण्डमा १० बर्षको कैद सजाय फैसला गरेको छ ।

जिल्ला अदालत पाटनको फैसला अनुसार उनले साढे ३ बर्ष जेल सजाय काटेर बाहिर निस्किएका थिए । तर, उनलाई १७ बर्ष कैद सजाय र जरिवाना माग गरिएको थियो । सोही मुद्दामा उच्च अदालत पाटनले डन गुप्तालाई १० बर्षको कैद सजाय सुनाएको हो ।

गुप्तासहित जेल सजाय पाउनेहरुमा आकाश लामा (राई), जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डे रहेका छन् । उनीहरु सबैलाई १–१ लाख रुपैयाँ जरिवाना पनि गर्ने गत भाद्र १२ गते उच्च अदालत पाटनले फैसला गरेको थियो ।

आकाश लामा (राई) तिनै ब्यक्ति हुन्, जसले महिलालाई प्रयोग गरी पीडित पाख्रिनमाथि बलात्कारको उजुरी हाल्न लगाएर फसाएका थिए । त्यसो त, डन गुप्ताले तत्कालिन आनन्दीदेवी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष आनन्दीदेवी सिंहलाई पनि अपहरण गरेर अध्यक्षको पद हासिल गरेका थिए ।

संघाई अपहरण काण्डमा साढे ३ बर्ष जेलमा बसेर निस्किएको एक बर्ष नवित्दै गुप्ता फेरी एक महिलासँग ५० लाख रुपैयाँ फिरौती माग गरेको काण्डमा पनि जेल चलान भएका थिए । यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार

Published : Monday, 2019 September 30, 2:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया