ओली–प्रचण्डका धुन्दुकारी ‘किर्ना’हरूलाई ठाउँमा राख्न खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पछिल्ला हर्कतले जनताको नजरबाट झन् गिर्न थालेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाललाई तनहुँ जिल्लामा गरिएको घटनाको विरोधमा सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै खतिवडाले निर्वाचनमा जितेर पनि नेकपाका हर्कतले पराजित मानसिकता देखाएको बताए । उनले दुईतिहाइको दम्भका कारण नेकपामा अहँकारले जरो गाडेर बसेको बताए ।

‘अब पनि तर्साउने, थर्काउने, कुटपिट र धम्काउने राजनीति गर्नु जितेर पनि हार्नु हो’, नेपाली कांग्रेसका युवा नेता खतिवडाले भनेका छन्, ‘लाठी, मुग्रा, भाटा होइन, मतदान अबको हतियार हो ।’

‘बोल्न र आफ्ना कुरा राख्न हामीलाई संविधानबाट बन्देज छैन’, उनले भनेका छन्, ‘यो कुरा सत्ताका ‘किर्ना’लाई थाहा होला । अधिनायकवाद कतातिरबाट आउँछ, सरकार ?’

नेकपाका नेता तथा कार्यकर्ताहरूको अराजक गतिविधि बढ्न थालेपछि नेपाली कांग्रेसका नेता खतिवडाले कठोर टिप्पणी गरेका हुन् ।

उनले सत्तारुढ नेकपालाई सुध्रिन चेतावनी दिएका छन् । यस्तै घटना दिन प्रतिदिन दोहोरिन थाल्यो भने नेपाली कांग्रेसलाई पनि सोँच्न बाध्य बनाउने खतिवडाले धम्की दिएका छन् ।

संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता, डिँडुलको अधिकार, शान्तिपूर्ण कार्यक्रम गर्ने लगायतका अधिकारलाई विभिन्न बहानामा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले अंकुश लगाउन खोजेको उनले आरोप लगाएका छन् ।

खतिवडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका बेला ‘कम्युनिस्टले जिते भने रुन पाइँदैन’ भन्ने अभिव्यक्ति पूरा हुँदै गएको बताए । यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने खतिवडाले बताएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्ना ‘किर्ना’ (कार्यकर्ता)लाई सम्हालेर राख्न सुझाव दिएका छन् ।

Published : Monday, 2019 September 30, 8:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया