‘जनताको पार्टी कांग्रेस’भन्दै पूरै गाउँले छाड्यो नेकपा, चार ताराको प्रशंसा

सन्धिखर्क । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तरगत अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पूर्व एकीकृत माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जनाले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

पाणिनी गाउँपालिका ८ पालीमा स्थानीय तहको निर्वाचनमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुरमोहमद अली र सदस्यका उम्मेदवार मधु पन्तसहितका ५ सय ७९ जना कांग्रेसमा प्रवेश गरेको अर्घखाँची कांग्रेसका सभापति विष्णु खनालले जानकारी दिएका छन् ।

उनीहरू अहिले भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बस्दै आएका थिए । नेकपाले पनि बेवास्ता गरेपछि कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी उनीहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताएका छन् ।

एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपात पूर्णव्यवहार गरेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुईतिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरू कांग्रेसमा प्रवेश गरेको तत्कालिन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुरमोहम्मद अलीले बताए ।

जनताका समस्या र स्थानीयस्तरका विकासमा आफूहरूलाई नेपाली कांग्रेसले साथ र सहयोग गरेको र जनताको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालीन एकीकृत माओवादीबाट वडासदस्य पदका उम्मेदवार बनेका मधु पन्तले बताए ।

नवप्रवेशीलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु मुस्कान, पूर्व सभापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतमलगायतले प्रवेश गराएका हुन् ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि चन्द्र केसी, पूर्व मन्त्री रेवती भुसाल, सभापति विष्णु मुस्कान, पूर्व सभापति कमल भुसाल, कांग्रेस नेता हिम्मत टण्डन, उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम लगाएतले मन्तव्य राख्दै यो लहरले सरकारलाई गतिलो जवाफ दिएको बताए ।

बहालवाला सत्ताधारी पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नु नै सरकारको अलोकप्रीयता प्रष्ट देखिने उनीहरूको भनाई छ ।

Published : Tuesday, 2019 September 17, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया