गृहमन्त्रीले मुख्य अरिँगाललाई बचाउन खोजेपछि संसदमा कांग्रेसद्वारा हँगामा

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापाले बाँके घटनाका तीन जना दोषीलाई पक्राउ गरिएको जानकारी संसदलाई दिएका छन् ।

संसदको आइतबार बसेको बैठकमा बाँके घटनाका बारेमा नेपाली कांग्रेसले जानकारी माग गरेपछि गृहमन्त्री थापाले तीन जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

‘भदौ २६ गते बाँकेको सीतापुरमा राष्ट्रिय जागरण अभियानमा आक्रमण भएको छ । बाँकेको खजुरा गाउँपालिकामा नेपाली कांग्रेसको कार्यक्रममा हेमन्त थापा, लोकबहादुर शाहीलगायत छ जनाको समूहले हो–हल्ला गरेर कार्यक्रमलाई बिथोल्न खोजेका थिए’, उनले भने, ‘सभापति किरण कोइरालालाई हातमा गम्भीर चोट लागेर केही व्यक्ति सामान्य घाइते भएकोमा गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण छ ।’

गृहमन्त्री थापाले जागरण अभियानको जानकारी स्थानीय प्रशासनलाई नेपाली कांग्रेसले जानकारी नगराएका कारण घटना भएको बताए । घटनाको जानकारी पाउनेवित्तिकै प्रहरीले घटनालाई नियन्त्रणमा लिएर उद्धार गरेको उनले बताए ।

गृहमन्त्री थापाले निर्मला खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान गरिएको बताए । घटनामा संलग्न अन्यको खोजी कार्य भएको भन्दै थापाले घटनामा जोसुकै संलग्न भएपनि नियन्त्रणमा लिएर कारबाही गर्न गृहमन्त्रालय दृढ रहेको बताए छ ।

थापाले शान्तिपूर्ण रुपमा सञ्चालित कार्यक्रमहरूलाई सुरक्षाका लागि सबै जिल्लालाई निर्देशन दिइएको बताए । गृहमन्त्री थापाले बाँके घटनालाई राजनीतिक नगर्न आग्रह गरेका छन् ।

गृहमन्त्री थापाले नेपाली कांग्रेसको कार्यक्रम आक्रमण गर्न आदेश दिने वडाध्यक्ष एवम् नेकपा नेताका नेता सुमन मल्लको नाम उल्लेख गरेनन् ।

नेपाली कांग्रेसका सांसदहरूले नेकपाका वडाध्यक्ष सुमन मल्लसहितका नेता तथा कार्यकर्तालाई किटानी जाहेरी दिँदा पनि पक्राउ गरी कारबाही गर्ने विषयमा चासो नदिएको बताए ।

बाँके कांग्रेसल दिएको जाहेरीको निवेदन दर्ता गर्न स्थानीय प्रशासन र प्रहरीले नमानेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

गृहमन्त्री थापालाई नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, दिलेन्द्र बडु, पुष्पा भुसाल, अमरेशकुमार सिंह, गगन थापा, तेजुलाल चौधरी, प्रकाश रसाइली, रामबहादुर विष्ट, डिला संग्रौला, सर्वत आरा खातुन, पार्वती डिसी चौधरी, सञ्जय गौतम, हीरा गुरुङ र देवप्रसाद गुरुङले प्रश्न सोधेका थिए ।

बाँके घटनामा नेपाली कांग्रेसकी सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । केही कार्यकर्ता घाइते भएका छन् ।

नेपाली कांग्रेसका सांसदहरूले नेकपाका अरिँगालहरू दुईतिहाइको सत्ताको आडमा अराजक बनेको आरोप लगाएका थिए । उनीहरूले सरकारले नेकपाका अरिँगालहरूलाई बचाउन खोजेको आरोप लगाए ।

संसद अबरुद्ध

गृहमन्त्री थापाले दिएको जवाफ चित्त नबुझेपछि नेपाली कांग्रेसले संसद बैठक अबरुद्ध बनाएको छ ।

गृहमन्त्री थापाले मुख्य अभियुक्तलाई बचाएको भन्दै नेपाली कांग्रेसले सदन अबरुद्ध गरेको सचेतक पुष्पा भुसालले बताइन् ।

नेकपाका नेता एवम् वडाध्यक्ष सुमन मल्लसहित दश जनाविरुद्ध किटानी जाहरी दिँदा पनि दर्ता नगरिएको भन्दै सदन अबरुद्ध गरिएको भुसालले बताइन् ।

नेपाली कांग्रेसले वडाध्यक्ष सुमन मल्लसहितका दश जनाविरुद्धको किटानी जाहेरी दर्ता नहुँदासम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाउँदै सदन अबरोध गरेपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक दश मिनटका लागि स्थगित गरेका छन् ।

नेपाली कांग्रेसले दोस्रो बैठक पनि अबरुद्ध बनाएको छ । अर्को बैठक भदौ ३० गते बस्नेछ ।

Published : Sunday, 2019 September 15, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया