कांग्रेस कमजोर छैन, अन्तरघातीबाट ठूलो खतराः महर्जन

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय प्रतिनिधि मीनकृष्ण महर्जनले पार्टीलाई सबैभन्दा ठूलो खतरा अन्तरघातीहरूसँग रहेको बताएका छन् ।

‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान’ अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ ‘क’को बाह्रबीसेमा बिहीबार पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले सिन्धुपाल्चोक जिल्ला पनि अन्तरघातीका कारण समस्यामा रहेको बताए ।

‘कांग्रेसभित्रका अन्तरघातीहरूका कारण सिंगो देशभरि पार्टीका आधिकारिक उम्मेदवारहरू पराजित भए’, उनले भने, ‘सिन्धुपाल्चोक जिल्लामा पनि अन्तरघातका कारण मोहन बस्नेत जस्ता नेताहरू पराजित हुनु पर्‍यो । अन्तरघातको पीडित स्वयं म पनि हुँ ।’

नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि महर्जनले अबको निर्वाचनमा पार्टीको संगठन बलियो बनाएर कम्युनिस्टहरूलाई पराजित गर्नुपर्ने बताए । ‘कांग्रेसका केही स्वार्थी नेताहरूका कारण कम्युनिस्टहरूले झण्डै दुईतिहाइको बहुमत पाएका हुन् । हाम्रो कारणले कम्युनिस्टहरू विजयी भए’, उनले भने, ‘अब कम्युनिस्टहरू नेपाली कांग्रेसले कुनै पनि मौका दिनु हुँदैन ।’

सिन्धुपाल्चोक जिल्लाको विकासमा पूर्वमन्त्री समेत रहेका मोहनबहादुर बस्नेतको ठूलो योगदान रहेको बताएका महर्जनले भने, ‘मोहन दाईको पराजय भनेको जिल्लाको विकासमा पनि पराजय हुनु हो । उहाँले जितेको भए कांग्रेसका कार्यकर्ताहरूको ठूलो सान हुन्थ्यो ।’

फेरि पनि सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको गुमेको साखलाई फिर्ता गराउन सबै नेता तथा कार्यकर्ताहरू सक्रिय भएर लाग्न केन्द्रीय प्रतिनिधि महर्जनले बताए । उनले भने, ‘मोहनबहादुर बस्नेतलाई नेता र कार्यकर्ता राम्रोसँग चिन्नु पर्ने बेला फेरि आएको छ ।’

‘मोहन दाईले पनि नेता तथा कार्यकर्तालाई अवसर दिनुपर्छ । मेरो र तेरो भनेर जानु हुँदैन । उहाँ केन्द्रीय नेता हो’, युवा नेता महर्जनले भने, ‘मोहन दाई सिन्धुपाल्चोक जिल्लामा अभिभावक बनेर बस्नुपर्छ । कम्युनिस्ट अरिँगालहरूबाट कार्यकर्ताको संरक्षण गर्नुपर्छ । यो उहाँको दायित्व हो । मोहन दाईको काम गर्ने शैलीबाट म धेरै अगाडिदेखि प्रभावित भएको थिएँ ।’

नेता महर्जनले अन्तरघातीहरूलाई ठेगान लगाउने थुनुवाको कक्ष समेत बनाएको भन्दै धेरैले यो कुरालाई सचेत रुपमा बुझ्नुपर्ने बताए । ‘अन्तरघातीहरूलाई तह लगाउन मोहन दाईले थुनुवा कक्षमा ल्याउन नगद २५ हजार रुपियाँको पुरुस्कार दिने घोषणा गर्नुभएको रहेछ । मलाई यो कुराले छोएको छ । मन परेको छ ।’

कांग्रेसभित्र रहेको अन्तरघातको रोग सिन्धुपाल्चोकमा मात्र नभइ देशभरिको समस्या रहेको उनले बताए । उनले भने, ‘अन्तरघातको रोग जरैबाट फाल्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता महर्जनले तानाशाह कम्युनिस्टहरूका कारण देशमा लोकतान्त्र खतरामा परेको समेत बताए ।

‘अहिले दुईतिहाइको बलियो कम्युनिस्ट सरकार देखेर जनतामा राजनीतिक दलमाथी वितृष्णा बढ्दै गएको छ’, उनले भने, ‘कम्युनिस्टहरूको गल्तीले देश र लोकतन्त्रलाई अफ्ठ्यारो हुन दिनु हुँदैन ।’

उनले लोकतान्त्र जोगाउन कांग्रेस अब आउने निर्वाचनमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

अबको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउने उनले बताएका छन् ।

‘नेताहरू केन्द्रदेखि स्थानीय तहसम्म पार्टीभित्र एकताको सन्देश जनतामा पठाउन जरुरी छ’, महर्जनले भने, ‘तानाशाह कम्युनिस्टहरूका कारण देशमा लोकतान्त्रि खतरामा परेको छ ।’

‘सिन्धुपाल्चोक जिल्ला कम्युनिस्टहरूको गढ हो’, उनले भने, ‘यो जिल्लामा कांग्रेसका कार्यकर्ता सुरक्षित हुनुपर्छ एकजुट बन्नुपर्छ ।’

कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीभित्रको एकतामा जोड दिए । उनीहरूले केन्द्रीय नेताहरूको गुटको राजनीतिको प्रभाव जिल्ला तहसम्म आउँदा समस्या हुने गरेको बताएका थिए ।

Published : Thursday, 2019 September 12, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया