वीपीको मर्म बुझन् सकेका छैनौँः रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संस्थापक नेता वीपी कोइरालाको मर्म बुझ्न नसकेको बताएका छन् ।

दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका अवसरमा नेपाली कांग्रेस तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पार्टीका कार्यकर्ताले पनि वीपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए ।

‘वीपी जयन्तीमा देशैभर कार्यक्रम भयो । कांग्रेसका कार्यकर्ताले वीपीको आदर्शलाई बुझेका छन् कि छैनन् ? यो मुख्य प्रश्न हो’, पौडेलले भने, ‘वीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’

पौडेलले वीपी सबै जनताको शासनको पक्षमा रहेपनि कम्युनिष्टहरू सर्वहाराको शासनको पक्षमा मात्र रहेको आरोप लगाएका छन् ।

वीपीले सबै जनताका लागि राजनीति गर्न चाहे पनि अहिलेको राजनीति त्यस्तो नरहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

निमुखालाई न्याय र विपन्नलाई आय कांग्रेसको मूल सिद्धान्त रहेको बताउँदै पौडेलले गाउँ–गाउँमा रोजगारी सिर्जना गरेर जनतालाई गाउँमै बसुँबसुँ बनाउनुपर्नेमा जोड दिएका छन् ।

वीपी कोइरालाले विक्रम संवत २०३६ असोज ६ गते व्यास नगरपालिका ३ वीपी वनवाटिकामा उपस्थित भएर राखेको भनाइ अंकित बोर्डको पौडेलले अनावरण पनि गरेका छन् ।

तनहुँ आएर पहिलोपटक राखेको उद्गारलाई चीरस्थायी बनाउन होर्डिङ बोर्ड राखिएको कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिएका छन् ।

Published : Wednesday, 2019 September 11, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया