देउवासहितका ठूला नेताले कार्यकर्तासँगै बसेर खाए साधारण खाना

इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्ताहरूसँगै साधारण खाना खाएर घुलमिल हुने प्रयास गरेका छन् ।

हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानअन्तर्गतको कार्यक्रममा सहभागी हुन सभापति देउवा मंगलबार विराटनगर हुँदै सुनसरी आएका थिए ।

सभापति देउवालाई कांग्रेसका स्थानीय नेताहरूको घरमा तयार पारिएको खाना खुवाइएको थियो । सभापति देउवाले सत्कारसहित दिइएको खाना खाएका थिए । उनले मीठो खाना खुवाएको भन्दै खाना बनाउने कार्यकर्तालाई धन्यावाद दिएका थिए ।

सभापति देउवासँग उपसभापति विजय गच्छदार, सहमहामन्त्री डा.प्रकाश शरण महत, सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, विनोद चौधरी, उमेशलाल श्रेष्ठसहितका नेता तथा कार्यकर्ताले सँगै खाना खाएका थिए ।

खानामा दालभात, तरकारी, अचार, साग, दाल र बोइलर कुखुराको मासु राखिएको थियो ।

सबैलाई सामान्य स्टीलको थालामा खाना राखेर दिइएको दिइएको सुनसरी कांग्रेसका एक नेताले बताएका छन् ।

कम्युनिस्ट नेताहरू खड्गप्रसाद ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, मेडिकल व्यापारी दुर्गा प्रसाइँले भक्तपुरमा तीन वर्ष अगाडि प्रसाइँको घरमा चरेसको थालमा मार्सी चामलको भात खाएका थिए ।

तर, नेपाली कांग्रेसका सभापति देउवासहितका नेताहरूले कार्यकर्ताको घरमा सामान्य रुपमा खाना खाएर सकारात्मक सन्देश दिएका छन् ।

नेपाली कांग्रेसले दोस्रो जागरण अभियानका क्रममा कार्यकर्ताकै घरमा खानाखाने नियम बनाएको छ । पार्टीले बनाएको नियमलाई सभापति देउवाले अनुसरण गरेका छन् ।

नेपाली कांग्रेस सुनसरीका नेता तथा कार्यकर्ताहरूले देउवासँगै खाना खाएपछि खुसी व्यक्त गरेका थिए ।

Published : Tuesday, 2019 September 10, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया