देशभरि उत्सवमय बन्यो कांग्रेसको जागरण अभियान (तस्वीर)

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले जनताका आधारभूत माग पनि पूरा गर्न नसकेर दुःख दिइरहेका बेला नेपाली कांग्रेसले मंगलबारदेखि देशव्यापी जागरण अभियान शुरू गरेको छ ।

वीपी जयन्तीको अवसर पारेर ७७ जिल्लामा एकसाथ शुरू भएको दोस्रो चरणको अभियान १५ दिनसम्म चल्नेछ ।

अभियान प्रारम्भ गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू जिल्ला पुगेका छन् ।

प्रदेश निर्वाचन क्षेत्रकेन्द्रित जागरण प्रभावकारी बनाउन कांग्रेसले ३ सय ३० क्षेत्रमै केन्द्रीय प्रतिनिधि खटाएको छ ।

प्रतिनिधिका रूपमा केन्द्रीयस्तरका नेता नभएर गत निर्वाचनमा पराजित उम्मेदवार, समानुपातिक उम्मेदवार, पूर्वमन्त्री तथा पूर्वजिल्ला कार्यसमिति सभापतिहरूलाई खटाइएको छ ।

पहिलो चरणको अभियानमा केन्द्रीयस्तरका नेताहरू नै प्रतिनिधि थिए । यसपटक उनीहरूलाई गृहजिल्ला तथा पायक पर्ने जिल्लामा जाने गरी स्वतन्त्र छाडिएको छ ।

सभापति देउवा विराटनगर, वरिष्ठ नेता रामचन्द्र पौडेल कास्की, उपसभापति विमलेन्द्र निधि धनुषा, अर्का उपसभापति विजयकुमार गच्छदार सुनसरी, महामन्त्री पूर्णबहादुर खड्का भक्तपुर, महामन्त्री डा.शशांक कोइराला मकवानपुर, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा.प्रकाशरण महत काठमाडौंमा खटिएका छन् ।

अन्य केन्द्रीय नेताहरू अधिकांश गृहजिल्ला पुगेका छन् । नेपाली कांग्रेसले तल्लो पंक्तिका कार्यकर्ताको मनोबल उकास्न र पार्टी संगठन सुधार गर्न अभियान शुरू गरेको छ ।

नेपाली कांग्रेस केन्द्र र प्रदेशमा सरकार बाहिर छ । स्थानीय तहमा समेत सरकारको नेतृत्वमा रहेको नेकपाकै बहुमत छ ।

निर्वाचनमा पराजयको समीक्षा गर्न बसेको पहिलो केन्द्रीय बैठकले नै जागरण अभियान थाल्ने निर्णय लिएको थियो ।

पहिलो चरणमा ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ४३ गाउँपालिका लक्षित गरी अभियान थाल्ने पार्टीको घोषणा थियो ।

पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर नेपाली कांग्रेस दोस्रो चरणमा प्रवेश गरेको हो । तेस्रो चरणको अभियान भने पार्टीको केन्द्रीय महाधिवेशनको माहोलसँगै सुरु हुनेछ ।

सबै जात र समुदायलाई पार्टीसँग जोड्न कांग्रेसले अभियानको नाम नै ‘हिमाल, पहाड, तराई–मधेस’ दिएको छ ।

पार्टीले मंगलबार अधिकांश जिल्लामा वृक्षरोपण गरेर कार्यक्रम प्रारम्भ गरेको थियो । केन्द्रीय कार्यालयका अनुसार मुलुकभर ३४ हजार ९ सय ८० बिरुवा रोपिएका छन् ।

जागरण अभियानका क्रममा सामाजिक संवाद, युवा केन्द्रित संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तरक्रिया, स्थानीय तहको दुईवर्षे समीक्षा, पार्टी प्रवेशलगायत कार्यक्रम गर्न केन्द्रले तोकेर सर्कुलर गरेको छ ।

अभियानका क्रममा सम्बद्ध क्षेत्रका अगुवा, सहिद परिवार, द्वन्द्वकाल एवं विभिन्न आन्दोलनका घाइतेको घरमै पुगेर अवस्था बुझ्ने र सुझाव लिने कार्यक्रमसँगै कांग्रेसले सरकारविरुद्ध प्रदर्शनका लागि ७ वटा विषय तय गरेको छ ।

Published : Tuesday, 2019 September 10, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया