कास्की २ मा कांग्रेसले जित्छ, सबै मिल्नुपर्छः रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले लामखुट्टे पनि मार्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले मंगलबारदेखि शुरु गरेको जागरण अभियान तथा वीपी जयन्तीका अवसरमा पोखरोमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले डेंगु प्रभावित बिरामीले अस्पतालहरू भरीभराउ हुन लाग्दा पनि नेकपा नेतृत्वको सरकारले लामखुट्टे नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

‘डेंगुको यत्रो प्रकोप फैलिएको छ । हस्पिटलहरू भरिन थालिसके’, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘सरकारलाई काम गर्ने मेसो नै छैन ।’

नेता पौडेलले कास्की क्षेत्र नम्बर २ मा अब नेपाली कांग्रेसकै जित हुने दाबी गरेका छन् ।

कास्की क्षेत्र नम्बर २ मै सबैको ध्यान खिचिएको उनको भनाई थियो ।

नेता पौडेलले कांग्रेसका नेता टिकटको जालोमा फस्नुको साटो पार्टीलाई जिताउन एक भए जित कांग्रेसकै हुने बताए ।

मंसिर १४ मा हुने उपचुनावमा मिलेर जान नेता कार्यकर्तालाई उनको आग्रह छ ।

Published : Tuesday, 2019 September 10, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया