हेटौँडा पुगे रवि लामिछाने, बुधबार खुल्न सक्छ भाग्यको ढोका

हेटौँडा । शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतको आदेश बदर गर्नको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने उच्च अदालत हेटौँडा इजलासमा निवेदन दिएका छन् ।

लामिछानेसँगै निवेदन दिनेमा युवराज कँडेल पनि रहेका छन् । उनीहरूले मंगलबार उच्च अदालत पाटनको शाखा हेटौँडामा निवेदन दिएका हुन् ।

भदौ ९ गते चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटी माग गरेको थियो । चितवन जिल्ला अदालतको आदेशप्रति चित्त नबुझेपछि लामिछाने र कँडेल आदेश बदरको माग गर्दै उच्च अदालतको हेटौँडा इजलासमा पुगेका छन् ।

दुवै जनाले जिल्ला अदालत चितवनले दिएको आदेश बदर गरिपाउँ भनेर संयुक्त निवेदन दर्ता गराएको उच्च अदालत पाटनको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरेले जानकारी दिएका छन् ।

चितवन जिल्ला अदालतबाट भएको आदेश बदर गरी साधारण तारेखमा रही मुद्धाको पूर्पक्ष गरी पाउँ भन्दै निवेदन दर्ता गरिएको प्रवक्ता घिमिरेले बताए ।

शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतले दुवै जनालाई धरौटीमा रिहा गरेको थियो ।

शंकास्पद भिडियोलाई वस्तुनिष्ठ प्रमाणको रुपमा लिइ सर्तसहित आदेश गरिएको र धरौटी माग गरिएकाले त्यसमा चित्त नबुझेपछि खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गरिएको हो ।

चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाउँ भनी लामिछाने र कँडेलले निवेदन दर्ता गराएका हुन् ।

निवेदनको विषयमा बुधबार उच्च अदालत हेटौँडा इजलासले प्रारम्भीक सुनुवाइ गर्नेछ । लामिछाने र कँडेलको तर्फबाट अधिवक्ता राजेन्द्र सेढाइँले बुधबार बहस तथा पैरवी गर्ने जनाइएको छ ।

Published : Tuesday, 2019 September 3, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया