पूर्वमन्त्रीले कांग्रेसमा भाँडभैलो मच्चाएपछि कारबाही गर्न सानेपामा उजुरी

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीको माग गरिएको छ ।

सोलु–काठमाडौं सम्पर्क समितिले केन्द्रीय सदस्य केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिएका छन् ।

पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको छ ।

सोलु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिएका हुन् ।

वैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावलीसमेत पारित नभएको अवस्थामा मनोमानी ढंगले यही भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको कारवाहीको माग गरिएको छ ।

निरन्तर पार्टी विपरीतका कार्य गरेको भन्दै कारवाहीका लागि माग गरिएको छ ।

पार्टीमा चरम गुटबन्दी भएका कारण सोलुखुम्बुमा नेपाली कांग्रेस कमजोर हुन पुगेको निवेदनमा उल्लेख गरिएको छ ।

सोलुखुम्बुमा विगतदेखिनै केसी र अर्का नेता आङगेलु शेर्पा पक्षबीच दुई धार भएर पार्टी सञ्चालन भइरहेको छ ।

केन्द्रीय सदस्य केसी रामचन्द्र पौडेल समूहका हुन् । आङगेलु शेर्पा पार्टी सभापति शेरबहादुर देउवा समूहका मानिन्छन् ।

एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टीभित्रको समस्या जस्ताको तस्तै रहेको कांग्रेसकै जिल्ला तहका नेता कार्यकर्ताको भनाइ छ ।

जिल्ला सभापति विनोदबाबु बस्नेतले भने पार्टी विधान अनुसारनै चलिरहेको कही कसैले विधान र नियमावली विपरीत कार्य नगरेको बताए । सभापति बस्नेत पनि पौडेल समूह निकट मानिन्छन् ।

Published : Tuesday, 2019 September 3, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया