चन्द्र भण्डारीले गगन थापाकै सिकाे गरे, देशभरि तरंग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन दुई वर्ष बाँकी रहदा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूहबाट थापाले महामन्त्री दिने घोषणा गरेसँग सोही समूहका अर्का नेता चन्द्र भण्डारीले पनि उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीपनि सिटौला समूहकै हुन् ।

थापाको सिको गर्दै भण्डारीले पनि उपसभापतिमा उम्मेदवारी घोषणा गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।

‘सामान्य प्रयासमा कांग्रेसको पुनः आगमन सम्भव छैन । नेतृत्व कर्मकाण्डी छ’, थापाले भनेका छन्, ‘विगतमा जे गरिरहेको थियो, त्यही नै गर्ने प्रवृत्ति छ । टालटुल मात्र गर्न खोज्ने सोँचले समस्या झनै थापिन्छ ।’

थापाले भनेका छन्, ‘नेपाली कांग्रेसभित्र एउटा यस्तो महाअभियान चाहिएको छ, जसले सिद्धान्तको पुनर्निर्माण गर्नेछ ।’

‘पार्टी संगठनको पुनर्गठन गर्नुपर्नेछ । पार्टी आचरणमा शुद्धता खोज्नुपर्नेछ’, थापाले भनेका छन्, ‘यो सब गर्नका लागि भन्दा तितो होला तर, बासी नेतृत्वबाट सम्भव छैन ।’

‘कांग्रेसको यही नेतृत्वबाट जनतासँग टुटेको सम्बन्ध जोड्न असम्भव छ’, उनले भनेका छन्, ‘त्यसैले आगामी महाधिवेशनबाट बासी नेतृत्वलाई बाइबाइ गर्नैपर्छ ।’

‘विश्वप्रकाश शर्मा मात्र होइन, अरु युवा साथी पनि नेतृत्वमा आउनुपर्छ’, थापाले भनेका छन्, ‘जसले पार्टी र सरकार वा कतै पनि भूमिका पाउन सकेका छैनन, तिनलाई नेतृत्वमा ल्याउनुपर्छ ।’

थापालाई तपाई महामन्त्रीको उम्मेदवार हो भनेर सोधिएको प्रश्नको जवाफमा भनेका छन्, ‘हो, म महामन्त्रीको दाबेदार हुँ । उस्तै परिस्थिति निर्माण भयो भने म सभापतिको उम्मेदवार पनि हुन सक्छु ।’

केन्द्रीय सदस्य भण्डारीले १४औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

केन्द्रीय कार्यालय सानेपामा आइतबार केन्द्रीय समिति बैठकमा धारणा राख्दै भण्डारीले उपसभापतिको उम्मेदवर बन्ने घोषणा गरेका हुन् ।

उनले अहिलेको नेतृत्वबाट देशमा देखिएका समस्या समाधान हुन नसक्ने बताएका छन् । ‘नयाँ हिरोहरूपनि नयाँ स्क्रिप्टसहित आउनुपर्छ’, उनले भने, ‘पुराना हिरोहरूबाट अहिलेको समस्या हल हुन सकदैन ।’

Published : Sunday, 2019 September 1, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया