हाैसला र उत्साह लिएर भदौ २४ गतेदेखि कांग्रेस देशैभरि छरिने

काठमाडौं । संगठन सुदृढीकरणमा विशेष ध्यान दिन थालेको नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि कार्यक्रमहरू निर्धारणको काम शुरु गरेको छ ।

आइतबार सानेपामा बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता विश्वप्रकाश शर्माले दोस्रो चरणको जागरण अभियानका लागि विभिन्न कार्यक्रमहरू निर्धारणको काम भइरहेको जानकारी दिए ।

शर्माले दोस्रो चरणमा पहिलो चरणमा गरिएका कार्यक्रमभन्दा भिन्न प्रकृतिका कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन् ।

उनले भने, ‘पहिलो चरणमा जे जस्ता कार्यक्रमहरू भए ठीक तिनै र त्यस्तै मोडलभन्दा भिन्न प्रकृतिको कार्यक्रम प्रस्तावित हुने क्रममा छ ।’

नेपाली कांग्रेसले भदौ २४ गते पार्टीका संस्थापक नेता वीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्न गइरहेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले तीन सय ३० प्रदेश क्षेत्रमा जाने केन्द्रीय प्रतिनिधिहरूको नामावली तयारीको काम भइरहेको उल्लेख गरे ।

पार्टीका तर्फबाट सांसद रहिसकेका, सांसद पदमा कार्य गरिरहेका, सांसद पदको उम्मेदवार रहेका, कांग्रेसको जिल्ला सभापति भएर नेतृत्व गरिसकेकालाई प्रतिनिधि तोकिनेछ ।

भदौ २३ गते साँझसम्म प्रतिनिधिको जिम्मेवारी दिएपछि तोकिएको स्थानमा पुगेर २४ गते अभियानको उद्घाटन गर्नुपर्नेछ ।

केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएको भोली पल्ट पदाधिकारीहरूसहितको उपस्थितिमा दोस्रो चरणको जागरण अभियानको घोषणा हुने उनले बताए ।

नेपाली कांग्रेसले जारी केन्द्रीय कार्यसमित बैठक सोमबारसम्म सम्पन्न गर्ने सम्भावना रहेको छ ।

000

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू महेश आचार्य, प्रदीप गिरी, रमेश रिजाल, डा. मीनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. चन्द्र भण्डारी, गगनकुमार थापा, श्यामकुमार घिमिरे, डा. डिला संग्रौला र आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेयले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ भाद्र १७ गते दिनको १ बजे पुनः बस्नेछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Published : Sunday, 2019 September 1, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया