ओली सरकारविरुद्ध बुलन्द आवाज उठाउन नुवाकोट कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटले खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो सरकारविरुद्ध एक जुट हुनका लागि अपील गरेको छ ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले प्रधानमन्त्री ओलीले २० महिना पनि नबित्दै सम्मपन्न गरेका जनबिरोधी कार्यहरूको विरुद्ध एकजुट हुन अनुरोध गरेका हुन् ।

तेत्तीस किलो सुन काण्डमा र त्यसका मतियारलाई संरक्षण गरेको भन्दै उनले निर्मला पन्त लगायत चेलीबेटीका दोषीहरूलाई संरक्षण, राष्ट्रसेवक र निर्दोष बालिकाका दोषीलाई संरक्षण गरेर पुरस्कार दिएको आरोप लगाएका छन् ।

सभापति केसीले वाइडबडीमा ६ अर्ब झ्वाम पारेको बताएका छन् । ओली सरकारले जनतामाथि अत्याधिक कर वृद्धि गराउने काममा लागेको उनले आरोप लगाए ।

बुढी गण्डकी र गेजुवा काण्डमा कम्युनिस्ट सरकार लागेको उनले आरोप लगाए ।

केसीले कम्युनिस्टहरूले सदनलाई रणभूमि बनाएको आरोप लगाएका छन् । ‘हावाइ जहाज पंखा, पुच्छर सबै चपाएर पानीजहाजको सपना बाँड्ने काम भएको छ’, सभापति केसीले भने, ‘राष्ट्रपतिलाई डेढ अर्बको हेलीकप्टर र अठार करोडको गाडी दिइएको छ । जनतालाई कर थोपरेर सुविधा लिने कार्य तत्काल रोकिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई ५–५ हजार भत्ता हातहातामा पुर्‍याउने भनी झुक्याएको आरोप नेपाली कांग्रेस नुवाकोटका सभापति केसीले बताएका छन् ।

‘नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले १० प्रतिशत काम बाँकी राखेको मेलाम्ची कमिसनको चक्करमा ढिलाई गरेको छ’, उनले भने, ‘स्वास्थ्य सेवा माफियालाई बुझाइएको छ ।’

‘काठामाडौं उपत्यकाभित्र आफ्नै अगाडिको खाल्टाखुल्टी पुर्न नसकेर जनातालाई दुःख दिएर राखिएको छ । पानीजाहाज र घरघरमा ग्यासको पाइप जोडिदिने फाईफुट्टी देखाएर झुक्याइएको छ’, सभापति केसीले उल्लेख गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेताको आनुपस्थितिमा संवैधानिक आयोगहरू बनाएको भन्दै केसीले विरोध जनाए ।

उनले जनताको आवाज उठाउने डा.गोविन्द केसीविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।

सत्तारुढ दलका ठूला नेताहरूले नै बालुवाटारको सरकारी जग्गा मिलेमतोमा खाएको भन्दै सभापति केसीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

Published : Sunday, 2019 September 1, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया