कांग्रेसको अन्तरिम संरचना बन्ने, सानेपाबाट तोकियो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि ७४ जिल्लामा प्रतिनिधि तोकेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रजातान्त्रिक लयर्स एसोसियसन (डीएलए) का जिल्लास्थित प्रतिनिधिलाई संरचना गठनका लागि खटाएको हो ।

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत संरचना गठनका लागि निर्वाचन समितिलाई जिम्मेवारी दिएको थियो ।

निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउन प्रतिनिधिको नाम टुंगो लगाएको र १५ भदौबाट सबै जिल्लामा काम शुरु हुने जनाएका छन् ।

समितिका सचिव केशव रिजालले ७४ जिल्लामा डीएलएको संगठन भएको र बाँकीमा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघमध्येबाट जिम्मेवारी दिइने बताएका छन् ।

तीन जिल्ला डोल्पा, दैलेख र रुकुम पश्चिममा डीएलएको शाखा नभएका कारण शिक्षक संघ वा प्राध्यापक संघमध्येबाट जिम्मेवारी दिने तयारी भएको छ ।

भदौ १५ गते सबै जिल्लामा जिल्ला कार्यसमितिको बैठक राखेर संरचना गठनको काम शुरु गर्न निर्देशन गरिएको छ ।

जिल्लामा रहने प्रतिनिधिहरूले पार्टीको अन्तरिम संरचना गठनका लागि बनाएको निर्देशिकाअनुसार काम गर्ने र संरचना निर्माण गर्दा भएको समायोजनको विवरण प्रमाणित गरेर केन्द्रीय निर्वाचन समितिलाई पठाउनेछ ।

२० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्र्तिकभित्र स्थानीय तहका समेत गरी सबै कार्यसमिति समायोजन गरी सक्ने तयारी गरेको छ ।

साउन २६ गतेको केन्द्रीय समिति बैठकले सोही बमोजिमको निर्णय गरेको थियो ।

अन्तरिम संरचना गठन सहमतिबाटै गर्ने कांग्रेस शीर्ष तहमा सहमति छ ।सहमति हुन नसकेको स्थानमा वा एकभन्दा बढी आकांक्षी देखिएमा भने भूभाग, प्रतिनिधि र क्रियाशील सदस्यको संख्या हेरेर नेतृत्व चयन हुने उल्लेख छ ।

सो प्रक्रियाबाट जाँदा समेत बराबर भएमा गोला प्रथाद्वारा नेतृत्व चयन गरिनेछ ।

प्रदेश संरचना गठनको विषयमा भने कांग्रेसभित्र अझै सहमति जुट्न सकेको छैन । कांग्रेस विधानअनुसार कांग्रेसको केन्द्रभन्दा तल्लो तहमा प्रदेश समिति रहने व्यवस्था छ ।

Published : Friday, 2019 August 30, 10:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया