कांग्रेसका सांसदद्वारा सरकारकाे सात अर्ब चलखेलको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सांसद सांसद अतहर कमाल मुसलमानले सरकारले सदनबाट कानून पारित नगर्दै प्रधानमन्त्रीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको भन्दै विरोध जनाएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसद मुसलमानले प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेर सदनमा विधेयक छलफलका लागि ल्याएर के गर्न खोजेको हो भन्दै प्रश्न गरे ।

‘एकातिर गृहमन्त्रालयले आफ्नै आयोजनामा सम्माननीय प्रधानमन्त्रीजीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ’, उनले भने, ‘अर्कोतर्फ सदनभित्र यो विधेयक छलफलका लागि पेश गरी छफल प्रारम्भ हुने कुरा संगतिपूर्ण छैन ।’

नेपाली कांग्रेसका सांसद मुसलमानले परिचयपत्रहरू वितरण भइसकेको र राष्ट्रको सबैभन्दा प्रभावशाली व्यक्तित्व प्रधानमन्त्रीले लिइसकेको अवस्थामा यो विधेयकमाथिको छलफलको कुनै औचित्य नरहेको बताए ।

‘यो विधेयक सँगसँगै राष्ट्रिय परिचयपत्र छपाई ठेक्का व्यवस्थापन विधेयक २०७६ एउटा अंग बनोस् भनि जोडिदिने हो भने गृहमन्त्रालयले गर्न चाहेको उद्देश्य परिपूर्ति हुन सक्छ’, उनले भनेका छन् ।

उनले विधेयक त्यसैका लागि हो भनेर प्रश्न समेत गरेका थिए । सांसद मुसलमानले जिटुजीको माध्यमबाट ठेक्का गरिएकोमा लगभग ६–७ अर्बको यो ठेक्का कसरी व्यवस्थापन हुन्छ भन्दै प्रश्न गरेका छन् ।

उने विधेयक नआउँदै परिचयपत्र वितरण भइसकेको र सफ्टवेयर खरिद भइसकेको समेत बताए । उनले साेही पैसा व्यवस्थापन गर्न चलखेल भएकाे उल्लेख गरेका छन् ।

‘विधेयक यहाँबाट पास हुन्छ कि संशोधन या फिर्ता हुन्छ भन्नेबारे कुनै जानकारी नलिइ सरकारले कामअघि बढाएको छ’, उनले भने, ‘यति गम्भीर विषयमा सदनले हल्का ढंगले लिनु हुँदैन ।’

केही महिना अगाडि विशेष कार्यक्रम गरेर प्रधानमन्त्री खड्गप्रसाद ओली र उनकी पत्नी राधिका शाक्यलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको थियो । राष्ट्रिय परिचयपत्र वितरण गरिसकेपछि अहिले आएर सरकारले विधेयक संसदमा पेश गरेको छ ।

Published : Tuesday, 2019 August 27, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया