रविले आफूलाई पुनः आवाज विहीनहरूको मान्छे सावित गरे, भरतपुरमा हजारौँको उपस्थिति

भरतपुर । सञ्चारकर्मी रवि लामिछानेले आफ्नो न्यायका लागि देश र विदेशबाट पहिल गर्ने सबै शुभेच्छुक र समर्थकहरूलाई विशेष धन्यावाद दिएका छन् ।

चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा मंगलबार आयोजित विशेष धन्यावाद कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो न्यायाका लागि पहल गर्ने सबैलाई सम्झिएका हुन् ।

लामिछानेले आफ्नो आफ्ना समर्थकहरूको शिर कहिल्यै पनि ननिहुरिने दिने प्रतिवद्धता जनाएका छन् । उनले आजीवन आवाज विहीनहरूको आवाजलाई उठाइ रहने जनाएका छन् ।

‘तपाईहरू न्यायको पक्षमा उभिनु भएको थियो । ७७ वटै जिल्लाबाट न्यायका लागि यहाँ आउनुभएको छ’, उनले भने, ‘मेरो न्यायका लागि विदेशबाट पनि आवाज उठाउनु भएकालाई पनि सम्झिन चाहन्छु ।’

‘गल्ली, चौक, सडकबाट मेरा लागि आवाज उठाउनु भएको छ । यो देशमा राजनीतिक एजेण्डा मात्रै चल्छ भन्ने थियो’, लामिछानेले भावुक हुँदै भने, ‘तपाईहरूले यो कुरालाई गलत सावित गरिदिनुभएको छ ।’

‘राजनीतिज्ञका कारण समाजमा भएको बेथितिका विरुद्ध तपाईहरूले यति बुलन्द आवाज बनाइदिनुभएको छ । हामीले केही ठूलो काम गरेका छैनौँ’, उनले भने, ‘तपाईहरूले हाम्रो काँधमा राख्नुभएको जिम्मेवारीलाई कहिल्यै हार्ने छैनौँ । देश विदेशका साथीहरूलाई कहिल्यै भुल्ने छैनौँ ।’

‘राजनीतिक दलले र तिनका नेताहरूले ईमान्दारिताका साथ काम गरे भने उनीहरूभन्दा उचित मान्छे यो देशमा छैनन्’, उनले भने, ‘हामीले सञ्चारको क्षेत्रबाट सुधार गर्नुपर्छ ।’

‘अहिले सञ्चारकर्मी रहेर हरेकको घरघरमा बसेर समाचार बनाउनेछु’, उनले आफू राजनीतिमा प्रवेश गर्नेबारेमा आएका समाचारको खण्डन गदै भने, ‘मैले सञ्चारको क्षेत्रबाट नै परिवर्तन गर्न चाहेको छु ।’

कार्यक्रमलाई सम्बोधन गरिरहँदा छाता ओढाइदिन खोज्दा लामिछानेले आफूलाई फरक सुविधा नदिन सुझाव दिए ।

‘मलाई कुनै फरक सुविधा नदिनु होला । तपाईले जहाँको पानी खानु हुन्छु म त्यहीको पानी खान्छु । तपाई जहाँको चामल खानु हुन्छ म त्यही चाम खान्छु ।’

‘यति धेरै घाम छ कि मलाई यही नै शीतल छ । म यसैमा सन्तुष्ट हुन चाहन्छु’, उनले भने, ‘तपाईहरूको माया र आशीर्वाद भए पुग्छ ।’
राणाहरूले आफ्नो सुरक्षाका लागि बनाएको सिंहदरबारभित्र सरकारी सञ्चार संस्था रहेको भन्दै लामिछानेले ती सरकारी सञ्चारमा सर्वसाधारण जनताको पहुँच नभएको बताए ।

‘सिंहदरबारमा नेपाल टेलिभिजन र रेडियो नेपाल छ । त्यसलाई पहिला बाहिर ल्यानुपर्छ । सबैको पहुँच बनाउनुपर्छ’, उनले भने, ‘होइन भने राष्ट्रिय टेलिभिजनबाट हामीले जनताका आवाज उठाउँदा फेरि पनि पक्राउ पर्नुपरे पक्राउ पर्न तयार छौँ ।’

‘मैले भोट दिएको मानिसले नेताले कुरा सुनेन भने कसलाई पीडा सुनाउने ?’, उनले भने, ‘मलाई सुनाउँदा प्रहरीले लठ्ठी हान्छ भने म लाठी खान तयार छु ।’

उनले जनताको आवाजलाई ढोकाबाट छिर्न नदिने कार्य बन्द गर्न चेतावनी दिएका छन् ।

लामिछानेले आफ्नो न्यायका लागि शान्तिपूर्ण प्रदर्शन गर्दा घाइते भएकाहरूको स्वास्थ्य उपचार गर्नुपर्ने माग गरेका छन् ।

‘राज्यले घाइतेहरूको उपचार गर्नेछ । यदि राज्यले उपचार गरेन भने अन्याय हुनेछ’, उनले भने, ‘आगामी दिनमा तपाईहरूका आवाज बोलेन भने रवि मुर्दावाद भन्नु होला ।’

‘हामीले गरेका काम र देखाएका कार्यक्रमबाट केही मान्छेलाई यति धेरै छटपटाहट भएको देखेको छु । कार्यक्रम बनाउँदा कसैको नगद, उपहार लिदैनौँ । हामीले खाएको बिल आफै तिर्ने गरेका छौं’, लामिछानेले भने, ‘पटपटी खुट्टा फुटेको मान्छे चप्पल लगाएर हाम्रो कार्यालयमा आउँछ त्यससँग पैसा लिएका छैनौँ’, उनले भने, ‘मेरो कार्यालयमा मलाई पैसा दिन त्यस्ता पीडित र गरिवहरू आउँदैन । मैले कसैसँग पैसा लिएको छैन ।’

सरकारले आफ्नो बैंक खाता र सम्पत्ति खोज्न थालेको भन्दै लामिछानेले काठमाडौं पुग्ने वित्तिकै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन् ।

‘म यहाँबाट फर्केपछि मेरो सम्पत्ति विवरण यो सरकारलाई बुझाइदिन्छु । मेरो सम्पत्ति हेर्न चाहन्छरे यो सरकार । मेरो ऋण धेरै छ । मलाई ऋण देखिन्छ कि भनेर लाज लाग्छ ।’

लामिछानेले केही विषयमा अन्तिम फैसाल नभएसम्म बोल्न नमिल्ने भन्दै अदालतमा विचाराधीन रहेको शालिकराम पुडासैनी प्रकरणका बारेमा एक शब्द पनि बोलेनन् ।

‘न्यायका लागि अपील गर्न मिल्छ । अन्तिम समयसम्म लड्ने छौँ । अदालतको न्यायलाई मान्ने छौँ’, उनले भने, ‘राज्यलाई सहयोग गर्ने छौँ । अन्तिम समयसम्म पनि दायित्व पूरा गर्नेछ । तपाईहरूले लगाउनु भएको गुन र ऋणलाई डगमगाउन दिने छैन ।’

‘म बोल्न पाएँ भने लागेका आक्षेपहरू तीन मिनटभित्र प्रमाणित गर्नेछु । मलाई धेरै बोल्ने अनुमति छैन’, उनले भने, ‘बोल्न पाएँ भने तीन मिनट भए पुग्छ । मलाई सम्मानित अदालतले एउटा मुद्धामा नबोल्न भनेको हो । यस्ता हजारौं मुद्धा छन् ।’

लामिछानेले आगामी शनिबारबाट सिधा कुरा जनतासँग कार्यक्रमलाई लाइभ सुरु गर्ने बताएका छन् । त्यस कार्यक्रममा बोल्न एउटा कुरालाई मात्रै बन्देज लगाइएको भन्दै बोल्न र उठाउनका लागि हजारौँ मुद्धा रहेको उनले बताए ।

कार्यक्रममा उपस्थिति भएका र आफू थुनामा रहेका बेला सडकमा देश, विदेश र ७७ जिल्लाबाट देखाएको शुभेच्छा र आशीर्वादलाई लामिछानेले मनैदेखि धन्यावाद दिएका थिए ।

‘मलाई दुई चार जना फेसबुकेले मन पराएको मान्छे हो भन्थे । तपाईहरूको साथले सबैले थाहा पाए’, उनले भने, ‘विगतको मेरो लाइफअनुसार मलाई यतस्ता घिन लाग्दा मान्छेहरूसँग लड्न जरुरत थिएन । मेरो जीवन पहिलानै राम्रो थियो । तपाईहरूका स–साना आवाज उठाउन आएको हुँ । प्राण रहँदासम्म तपाईहरूको पीर मर्का र समस्या उठाइ रहनेछु ।’

टेलिभिजन प्रस्तोता लामिछानले शुभकामना मन्त्व्य सुन्न आएका हजारौँ शुभेच्छुकहरूलाई कार्यक्रमका बेला भएको फोहर आफै उठाएर लैजान र सम्बन्धित ठाउँमा फाल्न आग्रह गरेका थिए । उनले भने, ‘हामी अरुभन्दा फरक हुनुपर्छ । कार्यक्रम गर्दा भएको फोहरलाई हामी आफैले उठाएर फाल्नुपर्छ ।’

रवि लामिछानेका हजारौँ समर्थकहरू नारायणी किनारमा जम्मा भएका थिए । उनीहरूले लामिछानेलाई कार्यक्रमभरि समर्थनमा नारावाजी गरेका थिए ।

Published : Tuesday, 2019 August 27, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया