रविकाे सुरक्षाप्रति कांग्रेसका रामहरि खतिवडा चिन्तित, राज्यले निर्दाेषलाई नफसाओस्

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले शालिकराम पुडासैनी प्रकरणमा निर्दोष व्यक्तिलाई राज्यले फसाउन नहुने बताएका छन् ।

काठमाडौंमा शनिबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै खतिवडाले अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज पुडासैनी र नर्स अस्मिता कार्कीका सम्बन्धमा चिन्ता जनाएका हुन् ।

पक्राउ परेका उनीहरूको सुरक्षाका बारेमा पनि खतिवडाले चासो र चिन्ता जनाएका छन् ।

प्रहरी हिरासतमा रहेको व्यक्ति सुरक्षित हुन सक्दैन भने कहाँ सुरक्षित हुन्छ ? भन्दै खतिवडाले भने, ‘रवि लामिछानेले प्रहरी हिरासतमा असुरक्षित छु भन्नुभएको छ । यदि त्यस्तो हो भने दुःखद् कुरा हो । उहाँको सुरक्षाका विषयमा सबैले चिन्ता लिनुपर्छ ।’

रवि लामिछानेले आफू प्रहरीको हिरासतमा असुरक्षित रहेको बताउँदै आएका छन् ।

संविधान र कानूनको खिलाप जाने अधिकार कसैलाई पनि नरहेको बताएका युवा नेता खतिवडाले शालिकराम खतिवडा प्रकरणमा निर्दोष व्यक्तिलाई फसाउन कार्य भयो भने नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए ।

‘संविधान र कानून सबैका लागि बराबर हो । अनुसन्धान गर्ने विषयमा सबैले प्रहरी र न्यायालयलाई सहयोग गर्नुपर्छ’, उनले भने, ‘तर अनुसन्धानका नाममा निर्दोष व्यक्तिलाई राज्य लागेर फसाउन पाइँदैन ।’

नेपाली कांग्रेसले सधै अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकका अधिकारप्रति सचेत राख्दै आएको बताएका खतिवडाले शालिकराम पुडासैनी प्रकरणमा निर्दोष व्यक्तिलाई फसाउने कार्य गर्न नहुने बताए ।

शालिकराम पुडासैनी प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुंगा घर भएकी नर्स रुकु भनिने अस्मिता कार्की पक्राउ परेपछि नेपाली कांग्रेसका युवा नेता खतिवडाले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

खतिवडाले भनेका छन्, ‘अनुसन्धानमा सबैले सहयोग गर्नुपर्छ । न्यायको सिद्धान्तअनुसार अपराधि छुटोस् तर, निर्दोष व्यक्तिले सजाय नपाओस् भन्ने पक्षमा नेपाली कांग्रेस छ ।’

Published : Saturday, 2019 August 24, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया