पुडासैनीले डोरी किनेको पसलबाट सीसीटीभी फुटेज प्राप्त

भरतपुर । पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।

पुडासैनीले साउन २० गते नारायणगढ बसपार्कमा रहेको होलसेल पसलबाट डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको छ ।

चितवन प्रहरीले पसलको सीसीटीभीको हार्डडिस्क लगेर गएको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको छ ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए ।

बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।

लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको एक जना उच्च प्रहरी अधिकारीले बताए ।

होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ ।

धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी थिइन् ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

होटलमा पुगेपछि साँझ भेज खान बनाउन अर्डर गरेका पुडासैनी एक बोतल पानी लिएर कोठामा उक्लिएको होटल सञ्चालक बताउँछन् ।

राति ८ बजे खाना खान बोलाउन जाँदा पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फुटाएर हेर्दा पत्रकार पुडासैनी डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

झुण्डिनुअघि पुडासैनीले मोवाइलमा रेर्कड गराएको भिडियोमा पत्रकार रवि लामिछानेसहितका अन्य दुई व्यक्तिको नाम लिएका कारण ज्यान दिनुपरेको उल्लेख छ ।

सोही आधारमा प्रहरीले सञ्चारकर्मी लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर हिरासतमा म्याद थप गरि राखेको छ ।

Published : Monday, 2019 August 19, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया