कांग्रेस बनाउने हो भने केन्द्रीय नेताले दोहोरो कुरा गर्ने बानी त्यागौँः देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र पारदर्शिताको पक्षमा आफू रहेको बताएका छन् ।

भैरहवामा प्रदेश पाँचस्तरीय प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै देउवाले पार्टीलाई मिलाएर आफूले लैजान खोज्दा असहयोग हुने गरेको बताए । उनले रामचन्द्र पौडेलले भन्दै आएको पारदर्शिताको पक्षमा आफू रहेको बताए ।

‘रामचन्द्रजीले पार्टीभित्र पारदर्शिता हुनुपर्छ भन्नुभएको छ । म पनि पारदर्शिताको पक्षमा छु’, सभापति देउवाले भने, ‘केन्द्रीय कार्यसमितिको बैठकमा एउटा कुरा बोल्ने । बाहिर गएर मिडियामा अर्को कुरा बोल्ने । यस्ता कुराले हुँदैन । पारदर्शिता खोजेको हो भने कार्यसमितिको बैठकमा मिडियालाई राखौँ । सबै कुरा आइहाल्छ ।’ उनले आफूले पार्टीलाई मिलाउनकै लागि धेरै प्रयासहरू गरिरहेको बताए ।

सभापति देउवाले असन्तुष्टि र विवादका कुरा छन् भने पार्टीभित्र राखेर समाधान खोज्न सकिने बताए । ‘विवाद छ भने आउनुस् कुरा गरेर मिलाऔँ’, उनले भने, ‘भित्र एउटा कुरा गर्ने । बाहिर गएर अर्को कुरा गर्ने परम्परा त्याग गरौँ ।’ यस्ता कार्यले पार्टीलाई कमजोर बनाउने र गाउँका कार्यकर्तामा मनोबल कमजोर हुने देउवाले बताए ।

नेपाली कांग्रेस प्रजातान्त्रिक र पारदर्शी पार्टी भएको भन्दै देउवाले पद ओगेर मात्रै नहुने बताए । उनले पदमा बसेअनुसारको काम पनि गर्नुपर्ने बताए । समावेशीअनुसार पदमा बसेका महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम सबैले आफूले पाएको अधिकारअनुसार भोट तान्न सभापति देउवाले निर्देशन दिए । ‘पार्टी चलाउने हो भने संगठन र भोट पहिलो प्राथमिकता हो’, उनले भने, ‘जसको जति प्रतिशत हो त्यति प्रतिशत भोट ल्याउनु पर्छ । अनि पार्टी बन्छ । पदमा मात्रै बसेर हुँदैन ।’

आउँदै गरेको उपनिर्वाचनमा सक्रिय भएर लाग्न देउवाले निर्देशन पनि दिएका छन् । उनले पार्टीका उम्मेदवारलाई जिताउनु पर्ने भन्दै चुनाव कसरी जित्ने त्यसको रणनीति बनाउने जिम्मेवारी कार्यकर्ताको पनि भएको बताए ।

सभापति देउवाले वर्तमान सरकारले संविधानलाई कमजोर बनाउन लागेको पनि बताए । उनले प्रजातन्त्रमाथि आक्रमण भयो भने कांग्रेस चुप लागेर नबस्ने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वाग्रह छाडेर रुखमा भोट हाल्ने स्थिति बनाउनुपर्ने बताए । उनले कांग्रेसभित्र अपारदर्शिता रहेको भन्दै सभापति देउवाको आलोचना गरे ।

नेता पौडेलले पार्टीलाई बलियो बनाउने हो भने सबैलाई मिलाएर लैजानुपर्ने बताएका थिए ।

 

Published : Monday, 2019 August 19, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया