पुडासैनी प्रकरणमा नेकपा र कांग्रेसकाे सुझबुझपूर्ण निर्णय, लामिछानेका समर्थकलाई झट्का

भरतपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पत्रकार शालिकराम पुडासैनी काण्डमा टेलिभिजन प्रस्तोता रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित गर्नेे निर्णय गरेका छन् ।

पुडासैनी प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्न जिल्लाका प्रमुख दलका नेताहरूले आम जनसमुदायमा अपील गरेका छन् ।

साउन २० गते भरतपुरको कंगारु होटलमा पत्रकार शालिराम पुडासैनीले ज्यान दिएका थिए । प्रहरीले साउन ३० गते न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

लामिछाने पक्राउ परेपछि उनका समर्थकले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहीँकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपील गरेको छ ।

बैठकमा नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र नेपाली कांग्रेसका सचिव उत्तम जोशीका साथै चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ बसेको सर्वपक्षीय बैठकले पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी अपीलमा भनिएको छ ‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निश्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने ।’

अदालतबाट म्याद लिई हिरासतमा रहेका व्यक्तिका सन्दर्भमा स्वच्छ र निश्पक्ष छानविन गरी न्याय निरुपण कार्यमा सहयोग पु¥याउन प्रमुद दलका जिल्ला नेताहरूले अपील गरेका छन् ।

शान्ति सुरक्षा कायम गर्ने जस्ता संवेदनशील विषयमा सहयोग गर्न आम जनसुमदायमा सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सबै क्षेत्रमार्फत अपील गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

हिरासतमा रहेका कार्यक्रम प्रस्तोता लामिछानेसहित ३ जनाको सम्बन्धमा स्वच्छ र निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नलाग्नसमेत सर्वपक्षीय बैठकले अपील गरेको छ ।

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शान्तिपूर्ण आन्दोलन गर्न पाउने भए पनि उछृङ्खल गतिविधि गर्न कसैलाई छुट नभएको बताए । उनले जिल्लालाई शान्तिपूर्ण बनाउन आफ्नो दल कटिवद्ध रहेको प्रतिवद्धता जनाए ।

Published : Sunday, 2019 August 18, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया