‘प्रचण्ड’लाई ‘बा’ भन्ने एसपीका कर्तुतले जनता दिक्क, दुई एसपी तानिए

चितवन । नुवाकोटका एसपी कृष्ण पल्ली मगर ७ महिनामै तानिएका छन् । उनको सरुवा २०७५ पुस १ मा भएको थियो ।

२०७६ साउन २४ मा उनी तानिएका छन् । उनको ठाउँमा अर्का एसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । प्रहरी आचरणविपरीत त्रिशुली दोहन गरी फाइदा लिएको धेरै गुनासो आएपछि एसपी मगर तानिएका हुन् ।

धादिङ र नुवाकोट हुँदै बग्ने त्रिशुलीको चरम दोहन गरी क्रसरबाट घुस असुली गरेको गुनासो अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रहरी प्रधान कार्यालयमा आएपछि एसपी मगर तानिएका छन् ।

त्रिशुली दोहन गर्ने धादिङका एसपी राजकुमार बैदबारबिरुद्ध पनि प्रहरी प्रधान कार्यालय एक्सन लिने तयारीमा छ । उनी धादिङमा सरुवा भएको ६ महिना मात्र भएको छ । उनी २०७५ माघमा धादिङ सरुवा भएका थिए ।

त्रिशुली दोहन गर्ने क्रसरहरूबाट फाइदा लिनेमा पल्ली मगर र बैदबार दुवैको नाम मुछिएको छ ।

राजनीतिक आडमा चितवन जस्तो जिल्लाको इञ्चार्ज भएका एसपी दानबहादुर मल्लले पनि शान्ति सुरक्षा कायम गर्नेतिर भन्दा आयआर्जनलाई नै प्राथमिकता दिँदै आएका छन् ।

घुस असुलीको शृंखला यसैगरी अगाडि बढाएमा पल्लीमगर तानिए जस्तै एसपी मल्ल पनि कुनै पनि दिन तानिने वा डीएसपी श्याम राई जस्तै अख्तियारको फन्दामा पर्न सक्ने संभावनालाई पनि नकार्न नसकिने उनको बानी ब्यहोराले देखाउँदै आएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बा’ भन्ने साइनो लगाएर उनी एकपछि अर्को आकर्षक पोष्टिङ पाउँदै आएका छन् ।

अवकाशको मुखमा महत्वपूर्ण जिम्मेवारी नदिने नीति प्रहरीदेखि सबै सरकारी सेवामा छ । तर, राजनीतिक शक्तिको आडमा एसपी मल्ल चितवन जस्तो प्रहरीका लागि आकर्षक जिल्लामा सरुवा भए ।

चितवनमा सरुवा भएपछि उनको ध्यान नै जसरी हुन्छ कमाउमै केन्द्रित हुँदै गएको छ । उनी सरुवा हुना साथ रोहित मोटरसाइकल वर्कसपबाट २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुक बरामद गरे ।

प्रहरीले चोरीका मोटरसाइकलसहित २०७६ असार २३ मा श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको थियो ।

तर, उनीहरूलाई चोरीमा मुद्दा नचलाई घुस लिएर सार्वजनिक अपराधको कसुर गरेको भनी उन्मुक्ति दिने काम गरे ।

एसपी मल्लसँग घुसमा कुरा मिलेपछि पक्राउ परेको १० दिनमै सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटे ।

यसले उनी कमाउधन्दा चलाउन गएको कुरालाई पुष्टि गरेको छ । स्रोतका अनुसार १५ लाखमा बार्गेनिङ गरी १० लाखमा दलालमार्फत् पैसा बुझेर मल्लले श्रेष्ठलाई छुटाउन सार्वजनिकमा मुद्दा चलाएका थिए ।

मोटरसाइकलदेखि गाडी चोरीको राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय गिरोह नै संचालन गर्ने मनकामना वर्कसपका संचालक दीपु भन्ने दीपेन्द्र श्रेष्ठसँग पनि एसपी मल्लको कनेक्सन जोडिसकेको छ । श्रेष्ठलाई हिजै मात्र अपराध महाशाखाले पक्राउ गरेको छ ।

रोहित श्रेष्ठको वर्कसपमा छापा मार्नुको उद्देश्य अरु चोरीका मोटरसाइकल कारोबारीलाई तर्साउने रहेछ भन्ने छर्लङ्ग भएको छ । (साँघु साप्ताहिकबाट साभार)

Published : Tuesday, 2019 August 13, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया