काठमाडौंमा ‘अरिँगाल’हरूबीच कुटाकुट, नेकपाभित्र भाँडभैलो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं जिल्लाका विभिन्न १० नगरपालिकाको एकता प्रक्रियालाई लिएर कुटाकुट भएको छ ।

काठमाडौं जिल्लाका १० वटा नगरपालिकाहरूमध्ये ६ नगरपालिकामा पूर्वएमाले र ४ वटा नगरपालिकामा पूर्वमाओवादी केन्द्रले पाउने भएका छन् । सोही भागबण्डाका क्रममा विवाद भएको हो ।

पूर्वमाओवादीले बुढानिलकण्ठ, शंखरापुर, दक्षिणकाली र टोखा नगरपालिकाको नेतृत्व पाउने भएको छ ।

कागेश्वर मनोहरा, गोकर्णेश्वर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी र कीर्तिपुर नगरपालिका पूर्वएमालेले पाउने भएको छ ।

काठमाडौंका अध्यक्ष र सचिवले एकलौटी पेलेर बैठकमा अघि बढेको भन्दै असन्तुष्ट समूहबीच कुटाकुटको स्थिति आएको हो ।

बैठकस्थलमै अग्रज नेताहरूले असन्तुष्टि पोख्दै कारबाही गरेर देखाउन चुनौती दिएका थिए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली समूहले एकलौटी रुपमा निर्णय गर्दै नगरपालिकामा अध्यक्ष र सचिव मनोनीत गरेपछि विवादले उग्ररुप लिएको थियो ।

स्थिति तनावपूर्ण भएपछि नेताहरूको भागभाग भएको थियो । नेकपा काठमाडौंका नेताहरूले बैठक छाडेर हिँडेका थिए ।

निर्णयको म्याइनुटमा भने उपस्थित धेरैको विरोधका कारण हस्ताक्षर भएको छैन ।

नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वमाओवादी नेताहरूलाई नेकपा काठमाडौंमा ओली समूहले पेलेर लगेको छ ।

उनीहरूले विरोधमा आवाज उठाउँदा बैठकमा हातहालाहातको अवस्था भएको एक नेताले बताए । ती नेताले भने, ‘ओली समूह अरिँगाल बनेर माधवकुमार नेपाल, झलनाथ खनाल र पूर्वमाओवादी नेताहरूलाई पेलेर निर्णय गरेका छन् । यस्तो तरिकाले पार्टीको संगठन चल्दैन ।’

Published : Sunday, 2019 August 11, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया