गायिका आनी फन्दामा परिन्, कारबाहीबाट जोगिन शक्तिकेन्द्र धाउँदै

काठमाडौं । गायिका आनी छोइङ डोल्माले आफ्नो खातामा रहेको १६ करोड ५० लाख रुपियाँको स्रोत खोल्न सकेकी छैनन् ।

गायिका डोल्माले मेघा बैंकमा सो रकम राखेकी हुन् । उनको रकमका बारेमा नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको छ ।

फ्रि तिब्बतको गतिविधिमा सो रकम लगाउन गायिका डोल्माले रकम भित्र्याएको आरोप छ । स्रोतले भन्यो, ‘फ्रि तिब्बतको गतिविधिमा गायिका आनी छोइङ डोल्माको खातामा रहेको रकम प्रयोग हुन सक्ने आशंका सुरक्षा निकायको रहेको छ ।’

गायिका डोल्माले यति धेरै रकम समाजसेवाका लागि विदेशीहरूबाट प्राप्त सहयोग र दान भएको दावी गर्दै आइरहेकी छिन् । त्यति मात्रै होइन डोल्माले मेघा बैंकमा रहेको सो रकम छुटाउन राजनीतिक नेतृत्व, उच्च कर्मचारी, सुरक्षा निकायदेखि पश्चिमा विदेशी कुटनीतिक नियोगहरूलाई समेत गुहारेको उच्च स्रोतले जनाएको छ ।

गायिका डोल्माले बैंकमा अड्किएको रकम निकासा गरिदिन उच्च राजनीतिक नेतृत्वलाई ठूलो दवाव दिँदै आएको जनाइएको छ ।

‘गायिका आनी छोइङ डोल्माले छानविनबाट बच्न पनि दवाव दिनुभएको छ’, स्रोतले भन्यो, ‘उहाँलाई अनुसन्धानमा राखेर छानविन चलिरहेको छ । उहाँले दिएको स्रोतहरूमा हामीलाई भर छैन ।’

राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानलाई जारी राखेको छ । अब उनको शंकास्पद रकमबारे अन्तर्देशीय अनुसन्धान हुनेछ ।

गायिका डोल्माको मेघा बैंकमा रहेको खातामा १६ करोड ५० लाख रूपियाँ देखिएपछि सबै झस्किएका थिए ।

बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण विभागले क्रस बोर्डर अनुसन्धान अघि बढाउन लागेको थियो ।

स्रोत नखुलेपछि राष्ट्र बैंकको निर्देशनमा मेगा बैंकले डोल्माको रकम रोक्का राखेको छ । सम्पत्ति शुद्धीकरण विभागले हङकङका सरकारी अधिकारीहरूको सहयोग लिएर अनुसन्धान गर्ने तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ ।

गायिका डोल्माले असल नियतले नै रकम ल्याएको भए पनि कानून र प्रक्रिया मिलेको छैन । हङकङसँग सहयोग लिन भने नेपाली अधिकारीहरूलाई सजिलो छैन ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धमा अनुसन्धान गर्ने प्रमुख निकायका रूपमा नेपालमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग रहेको छ ।

हङकङको एसेट म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक व्यक्तिबाट १५ लाख डलर उनले नेपाल ल्याएकी थिइन् ।

बैंकमा डोल्माका नाममा एकै पटक ठूलो रकम आएपछि त्यसलाई शंकास्पद भन्दै मेगाले राष्ट्र बैंकमा रहेको वित्तीय इकाइलाई जानकारी गराएको थियो ।

गायिका डोल्माले एक वर्षअघि नै यो रकम नेपाल भित्र्याएकी थिइन् ।

रकम रोकिएपछि गायिका डोल्माले प्रधानमन्त्री खड्गप्रसाद ओलीको तुइन विस्थापन कार्यक्रमलाई एक करोड रूपियाँ दिने घोषणासमेत गरेकी थिइन् ।

डोल्माले करीव ४० करोड रूपियाँ भित्र्याउन राष्ट्र बैंक र उद्योग विभागबाट स्वीकृति लिइसकेको दावी गरेकी छिन् ।

यसअघि स्रोत नखुलेको भन्दै विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको रकम अदालतले रोक्का राखिदिएको छ ।

Published : Tuesday, 2019 July 23, 2:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया