सरकारविरुद्ध जति बेला पनि सडक आन्दोलन हुन सक्छः राजकिशोर यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयोजक राजकिशोर यादवले दुईतिहाइको कम्युनिस्ट सरकारको रबैयाका कारण सडक आन्दोलन गर्ने अवस्था आइरहेको बताएका छन् ।

काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक यादवले कुनैपनि बेला सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउँदै गरेकाले तयारी अवस्थामा रहन निर्देशन दिए ।

‘यो सरकार संविधान विपरितका क्रियाकलाप गरेर आन्दोलनबाट प्राप्त उपलब्धीहरू अन्त्य गर्ने बाटोमा हिँडेको छ’, उनले भने, ‘तपाईहरू तयारी अवस्थामा बस्नु होस् । कुनैपनि बेला सडक आन्दोलन गर्नुपर्ने अवस्था आउँदै छ ।’

संसदमा नेपाली कांग्रेससँग मिल्ने एजेण्डाहरूमा सहमति कायम गरेर संयुक्त रुपमा आन्दोलन गरिरहेको उनको भनाइ थियो ।

‘कांग्रेससँग मिल्ने एजेण्डाहरूमा सहमति गरेर कार्यगत एकता गरेका छौँ’, उनले भने, ‘अब लोकतान्त्रिक शक्तिहरू मिलेर जानुपर्छ । लोकतन्त्रको रक्षाका लागि संघर्ष बिकल्प बनेको छ ।’

राजपा नेपालको महाधिवेशन आउँदै गरेको भन्दै संयोजक यादवले भने, ‘मेरो काम भनेको अध्यक्ष मण्डलका साथीहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गरेर महाधिवेशनको वातावरण बनाइदिने हो ।’

उनले अध्यक्षमण्डलका अध्यक्षहरूसँग परामर्श गरेर छिट्टै राजपाको अध्यक्षमण्डलको बैठक राख्ने बताए ।

राजपा नेपालले आफ्नो विधानमा दुई–दुई महिना अध्यक्षमण्डलका सदस्यहरूलाई संयोजक बनाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार यादवले राजपा नेपालको संयोजकको जिम्मेवारी सोमबार पार्टी मुख्यालयमा विशेष कार्यक्रम गरेर पदभार ग्रहण गरेका हुन् ।

यसअघि राजपा नेपालको संयोजक अनिलकुमार झा थिए । झाले आफ्नो दुई महिने कार्यकालमा अध्यक्षमण्डलको एउटा बैठक पनि राख्न सकेका थिएनन् । झाको आइतबारदेखि कार्यकाल सकिएको छ ।

संयोजकको जिम्मेवारी लिएका यादवले अध्यक्षमण्डलको बैठक बोलाएर निर्णयहरू गराउन सक्छन् वा सक्दैनन् आगामी दिनमा थाहा हुनेछ ।

Published : Monday, 2019 July 22, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया