दाङमा ९ वर्षीय बालकमाथि ‘अरिँगाल’ बने नेकपाका वडाध्यक्ष

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले ९ वर्षीय बालक भरत घर्ती मगरको कानको जाली फुट्ने गरेर हिर्काएका छन् ।

बुधबार राति करीव ९ बजे घोराही नगरपालिकाको शान्तिनगरस्थित वडाध्यक्ष सार्कीको घरको फूल टिपेको आरोपमा बालकलाई कुटपिट भएको थियो । कुटपिटबाट बालकको कान सुन्निएको छ भने गाला र चन्नीमा निलडाम रहेको उनकी आमा रैमता घर्ती मगरले जानकारी दिइन् ।

तत्कालीन एमालेबाट वडाध्यक्षमा निर्वाचित सर्कीले बास्तविकता बुझ्दै नबुझी बालकलाई कुटपिट गरेपछि विरोध भएको छ । सार्कीलाई कारबाहीका लागि ठूलो दवाव परेको छ । तर, सत्तारुढ दल नेकपा निकटका सार्कीलाई कारबाही नगर्न प्रहरीलाई दवाव परेको स्रोतले जनाएको छ ।

वडाध्यक्षले नै बालकलाई कुटपिट गरेपछि आमा रैमता र छिमेकी महिलाहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीसँग उनीहरूले कारबाहीको माग गरेका छन् ।

घटनास्थल आइपुगेको प्रहरीले वडाध्यक्ष सार्कीलाई त्यत्तिकै छाडेर पीडित बालककी आमालाई छोरालाई उपचार गराएर ल्याउन सुझाव दिएर गएको थियो ।

‘प्रहरीलाई खबर ग¥यौँ । प्रहरी आयो । वडाध्यक्षलाई पक्राउ गरेर लैजानुको साटो उल्टै हामीलाई मिल्नुस् भनेर दवाव दियो’, पीडित बालककी आमा रैमताले भनेकी छिन्, ‘बुधबार राति नै बालकलाई अस्पताल लगेर उपचार गरेको छु । छोराले देब्रे कान सुन्दैन भनेको छ ।’

साउने संक्रान्ति पर्व मनाउन र लुतो फाल्ने क्रममा बुधबार रातिसम्म चहल पहल थियो । सोही बेला रैमतीले आफ्नो छोरालाई पैसा दिएर साबुन किन्न पठाएकी थिइन् । सोही बेला वडाध्यक्षको घरको फूल कसैले टिप्यो । नजिकै रहेका वडाध्यक्ष सार्कीका नाती र छिमेकीको छोराले भरतले फूल टिपेको भनेर आरोप लगाए ।

देख्ने छिमेकीहरूका अनुसार भरतले वडाध्यक्ष सार्कीको घरको फूल टिपेका थिएनन् । वडाध्यक्ष सार्कीकै नातीले फूल टिपेको बताइएको छ ।

रिसले मुर्मुरिएका वडाध्यक्ष सार्कीले ९ वर्षीय बालकको देब्रे कानमा कसेर दनक दिए । वडाध्यक्ष सार्कीको कुटाइ थेग्न नसकेका भरत धङधङ गर्दै भित्तामा ठोक्किन पुगेका थिए ।

भरतका बुबा रोजगारीका लागि भारतमा छन् । आमासँग घोराहीमा डेरा गरेर बस्दै आएका भरत स्थानीय सरकारी स्कुलमा कक्षा २ मा अध्ययनरत छन् ।

वडाध्यक्ष सार्कीको हर्कतको छिमेकीहरूले विरोध गरेका छन् । भरतकी आमा रैमताका अनुसार, ‘मेरो छोरालाई पिटेको देखेपछि दिदीबहिनीहरू आएर मलाई सान्त्वना दिनुभयो । उहाँहरूले आज तपाईको छोरा कुट्ने वडाध्यक्षले भोली हाम्रा छोराछोरी पनि कुट्छ । यसलाई यसलाई छाड्नु हुँदैन भन्नुभएको छ ।’

९ वर्षीय बालकलाई कानको जोली फुट्ने गरेर दनक दिएपछि वडाध्यक्ष सार्की आफ्नो घरको कोठाभित्र पसेर लुकेको छिमेकीहरूले बताएका छन् ।

प्रहरी आएपछि बाहिर निस्किएका वडाध्यक्ष सार्कीले उल्टै पीडित बालककी आमासँग फूल टिपेर नोक्सानी गरेवापत पाँच हजार रुपियाँ क्षतिपूर्ति माग गरेका छन् । वडाध्यक्ष सार्कीले प्रहरीकै अगाडि रैमतालाई बस्दै आएको घर छाडेर अन्यत्रै जान धम्की समेत दिएका छन् ।

Published : Thursday, 2019 July 18, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया