भोजपुर घटनाबारे कांग्रेसकाे गम्भीर चासाे, कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भोजपुरमा प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता मारिएको घटनाको यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साँझ विज्ञप्ति जारी गरेर बुधबार बिहान भएको भोजपुर घटनाको सत्य तथ्य विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

शर्माले विप्लवको हिंसात्मक गतिविधि जस्तै सरकारको निषेधको रणनीति पनि गलत भएको बताए । नेपाली कांग्रेसले सरकारले प्रतिबन्ध लगाएछि नै विप्लवका गतिविधि चर्किन थालेको दावी गरेको छ ।

‘सत्तारुढ र विद्रोही दुबै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोथरीले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतमा होली नखेल्न हामी चेतावनी दिन चाहन्छौं’, प्रवक्ता शर्माले भनेका छन् ।

000

असार २५, २०७६

सत्तारूढ र विद्रोही दुवै नेकपालाई संयुक्त चेतावनी र अपील

“शान्तिपुर्ण समाधानको विकल्प रोज´´ !

१, भोजपुरमा आज रास्ट्रसेवक प्रहरी जवान सन्जिव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएका छन् भने विद्रोही माओवादी समुहका कार्यकर्ता निरकुमार राइपनी घटनामा मारिएका छन् l नेपाली कांग्रेसले यो दु:खद घटनालाई गम्भीरतापूर्वक लिएको छ l

२,काठमाडौमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पुर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटना पश्चात् आज दुई युवाको जीवन समाप्तिको घटनाले अब विषयलाई बिशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ भन्ने अपेक्षा नेपाली कांग्रेसले गरेको छ l

३, दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्यहरु पुन सामना गर्न किमार्थ तयार छैन l नेपाली कांग्रेस विद्रोही नेकपाका नेता विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुन अपिल गर्दछ l प्रचण्ड नेतृत्वको हिंसात्मक विद्रोहले अन्तत त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य हामी स्मरण गराउन चाहन्छौं l

४, संविधानलाई अस्विकार गरेर गतिविधि गरिरहेका सबै खाले समुहलाई वार्ता मार्फत विश्वासमा लिनेे कर्तव्य सरकारको हो l हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको कांग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ l

५, विप्लवको हिंसा झैं सरकारको निषेधको रणनीतिपनि गलत छ l दर्तानै नरहेको दलमाथी प्रतिबन्धको घोषणाले मुलुकमा समाधान होइन तनाव सृजना गर्न योगदान पुर्‍यायो l सो घोषणा पश्चात् समस्या समाधानको संकेत देखिएन बरु चर्किन त्यसले नकारात्मक ढंगले योगदान गर्‍यो l नेपाली कांग्रेस निषेधको नीति त्याग गरेर संवाद मार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको उहाँलाई स्पस्ट गर्न चाहन्छ l

६, जनताको बलिदानिपुर्ण संघर्षहरुबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि अघि बढ्नु हामी सबैको साझा कर्तव्य हो l सत्तारूढ र विद्रोही दुवै कम्युनिस्ट पार्टीलाई एकथरीले क्रान्तिका नाममा र अर्कोले शान्ति सुरक्षा स्थापनाको सरकारी दायित्वका नाममा जनताको रगतको होलि नखेल्न हामी चेतावनी दिन चाहन्छौं l आजका उपलब्धिहरुको जगेर्नाका लागि गम्भीर बन्न हामी दुवै नेकपालाई अपिल गर्दछौं l

७, सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको नेपाली कांग्रेस भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकार समक्ष माग गर्दछ !

जय नेपाल

विश्वप्रकाश शर्मा

प्रवक्ता

Published : Wednesday, 2019 July 10, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया