सभामुखले गगनको मुख थुन्न सकेनन्, निरिह बने महरा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संसद सरकारको छाँयाको रुपमा सीमित हुँदै गएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकपछि बुधबार पत्रकारहरूसँग कुरा गर्दै थापाले सभामुख कृष्णबहादुर महरामाथि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

सभामुख मराले संसदमा कांग्रेसका सांसदलाई बोल्न नदिएपनि थापाले संसद बैठकभन्दा बाहिर पत्रकारहरूसँग पार्टीको धारणा राखेका छन् ।

कम्युनिस्ट सरकारले प्रतिपक्षी दललाई पेलेर जाने नियत राखेको भन्दै उनले सभामुख महराले त्यसलाई अनुसरण गरेको बताए । उनले भने, ‘यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’

थापाले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए । ‘जबसम्म संसदीय छानविन समिति बन्दैन’, उनले भने, ‘तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन ।’

मंगलबारसम्म संसदीय समिति गठन गर्ने सकारात्मक रहेका सभामुख सरकारको निर्देशनमा पछि हटेको उनको दाबी छ ।

नेपाली कांग्रेसका सांसद थापाले भने, ‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसद र कानूनमन्त्रीले हामी तयार छैनौं भन्नुभयो । सभामुखले त्यही मान्नुभयो ।’

बुधबारको संसद बैठकमा कांग्रेसका एक सांसदले बोल्छौं भन्दा पनि सभामुखले समय नदिएको भन्दै थापाले असन्तुष्टि जनाए ।

‘हजोको बैठकमा मन्त्रीले भन्नुभयो, म संसदीय समितिको सामना गर्न तयार छु । सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । तर आज प्रमुख प्रतिपक्षी उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ’, थापाले भनेका छन् ।

‘आफैं पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैंले चलाइरहेको छ ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

सर्लाहीमा भएका दुबै घटना सामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्नसक्ने भएकाले आफूहरूले संसदीय छानबिन समिति गठनको माग गरेको युवा नेता थापाले बताए ।

Published : Wednesday, 2019 July 10, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया