भोजपुरमा विप्लवका कार्यकर्ताले प्रहरीको हत्या गरे

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दल नेकपाका कार्यकर्ताको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ ।

बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेका हुन् ।

प्रहरी महानिरीक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सञ्जीव राई रहेका छन् ।

गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा नीरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरू आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो ।

बुधबार बिहान प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।

एक जना विप्लव कार्यकर्ताको मृत्यु भएको थियो । मारिने राई ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीको भनाई छ । अन्य भने त्यहाँबाट भाग्न सफल भएका थिए ।

प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ ।

प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ ।

Published : Wednesday, 2019 July 10, 1:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया