फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समायोजन गर्नेबारे महत्वपूर्ण निर्णय

काठमाडौं । नेपाली कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गरी पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिले दुई सय जना महासमिति सदस्यहरूको नामावली विवरण जिल्लामा पठाइ अभिलेख अद्यावधि गर्ने निर्णय गरेको छ ।

समितिको शुक्रबार ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको बैठकले दुई सय महासमिति सदस्यहरूलाई बैधानिकता दिने निर्णय गरेको हो ।

‘२०७५ मंसिर २८–पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट सहभागी भएका २०० जना महासमिति सदस्यहरूको नामावली विवरण सम्बन्धित सदस्यको जिल्लामा पठाई अभिलेख अद्यावधि गर्न नेपाली कांग्रेस जिल्ला कार्यसमितिलाई निर्देश गर्ने’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘उपसभापति विजयकुमार गच्छदारद्वारा चैत २८, २०७५ मा प्राप्त तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यको नामावलीको सूची सम्बन्धित जिल्लामा पठाई देहाय बमोजिमको समितिबाट दुई हप्ताभित्र छानविन गरी निर्णय सहित केन्द्रमा पठाउन निर्देश गर्ने’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली कांग्रेसका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति र साविक निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति रहेका छानविन समिति’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

‘तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका जिल्ला सभापति वा क्षेत्रीय सभापति उक्त जिल्लामा नभएको भए पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारबाट तोकिएका प्रतिनिधि सदस्य रहनेछ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकको अध्यक्षता नेपाली कांग्रेस जिल्ला सभापतिले गर्नेछन् ।’

‘तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट प्रस्तुत भएका समायोजन सम्बन्धी बाँकी प्रस्ताव उपरको छलफल जारी राख्ने’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको समायोजन सम्बन्धमा हालसम्म भए गरिएका कार्य प्रगतिको प्रतिवेदन यही आषाढ २२, २०७६ देखि प्रारम्भ हुने पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने ।’

Published : Friday, 2019 June 28, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया