देउवाको शरणमा प्रचण्ड, सानेपा हाइटमा गोप्य वार्ता

काठमाडौं । नेपाली कांग्रेसलाई धोका दिएर तत्कालीन एमालेसँग सहकार्य हुँदै पार्टी एकता गर्न पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः नेपाली कांग्रेसको साथ खोजेका छन् ।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सहयोग गर्न आग्रह गरेका हुन् । स्रोतका अनुसार ललितपुरको सानेपा हाइटस्थित होटेल समिटमा प्रचण्डले देउवासँग गोप्य वार्ता गरेका छन् ।

गोप्य वार्तामा नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकीकरण गरेर ठूलो गल्ती गरेको गुनासो देउवा समक्ष पोखेको नेपाली कांग्रेस निकटका एक जना पदाधिकारीले जानकारी दिए ।

देउवाले प्रचण्डलाई देश बनाउन जनताले कम्युनिस्टहरूलाई दुईतिहाइ बहुमत दिएकाले जनतालाई धोका नदिएर इमान्दारिताका साथ पाँच वर्ष काम गर्न सल्लाह दिएक स्रोतले जनाएको छ ।

देउवाको कुरा सुनेपछि प्रचण्ड निरास बनेको जनाइएको छ । प्रचण्डले नेपाली कांग्रेसलाई देखाएर ओलीलाई तर्साउन खोजेको नेकपाका एक जना नेताले बताए ।

‘प्रचण्डजी अस्थिर नेता हुनुहुन्छ’, नेकपाका ती नेताले भने, ‘नेपाली कांग्रेसलाई देखाएर ओलीजीलाई तर्साउन खोज्नु भएको छ । यो उहाँका लागि नै घातक हुनेछ । ओलीले पनि चुप लागेर बस्ने नेता होइन ।’

नाम उल्लेख नगर्ने सर्तमा नेपाली कांग्रेसका पदाधिकारीले भने, ‘एमालेसँग माओवादीको पार्टी एकीकरण गरेर प्रचण्डजी पछुताउनु भएको रहेछ । देशलाई निकास दिन नेपाली कांग्रेसको साथ चाहियो भन्नु भएको छ ।’

आफ्ठ्यारोमा परेका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई फकाउने कामको सुरूवात गरेको कांग्रेस नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति देउवाले ओली र प्रचण्डको खेल बुझेका छन् । देउवाले कम्युनिस्टहरूको दुईतिहाइको बहुमत हुँदाको अवस्थामा केही गर्न सकिँदैन भन्ने बुझेका छन् ।

यस्तो अवस्थामा देउवाले प्रचण्डलाई साथ दिने सम्भावना निकै कम छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको पेलानमा परेका प्रचण्डले पार्टी एकीकरण गर्दा भएको सहमति कार्यान्वयन नभएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् । प्रचण्डले ओली सरकारको ठूलो आलोचना गर्दै आएका छन् ।

नेपाली कांग्रेसका ती पदाधिकारीका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र द्वन्द्वकालीन मुद्धालाई कसरी मिलाउन भन्नेबारेमा पनि कुराकानी भएको थियो ।

प्रचण्डलाई द्वन्द्वकालीन मुद्धाको ठूलो डर पनि छ । युरोपियन युनियन, भारत र अमेरिकनहरूले जति बेला पनि द्वन्द्वकालीन मुद्धा उठाएर माओवादी पृष्ठभूमि भएका नेताहरूलाई दुःख दिन सक्ने प्रचण्डलाई डर छ ।

युरोपियन युनियनले प्रचण्डसहितका माओवादी नेताहरूविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दायर गर्न नेपालका संघ संस्था र व्यक्तिहरूलाई उकासी रहेका छन् ।

तत्कालीन अयोग्य (बाल सैनिक) लेनिन विष्ट युरोपियन युनियनसँग निकट भइरहेका छन् । विष्टलाई प्रयोग गरेर प्रचण्डका विरोधीहरूले अन्तर्राष्ट्रिय अदालतमा युद्धसम्बन्धी मुद्धा जति बेला पनि दर्ता गर्न सक्ने छन् ।

स्रोतका अनुसार माओवादी, एमाले र नेपाली कांग्रेसका केही नेताहरू सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक बनाउन पनि गृहकार्यमा छन् ।

माओवादीले आफू अनुकूल हुने गरेर विधेयक बनाउन दवाव दिँदै आएको छ । तर, नेपाली कांग्रेसले द्वन्द्वका बेला माओवादीद्वारा मारिएका र यातना दिइएकालाई उन्मुक्ति हुने गरेर विधेयक बनाउन नहुने अडान राख्दै आएको छ ।

मेलमिलाप आयोगको विधेयक बनाउन नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरू सिंगापुरमा पुगेर सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकका विषयमा गोप्य ढंगले छलफल पनि गरेका थिए । उनीहरूको यो छलफलका रकम युरोपियन युनियनले खर्च गरेको स्रोतको दाबी छ ।

Published : Friday, 2019 June 28, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया