ईटहरीका मेयरलाई पनि उछिने भीमदत्तका मेयरले, एकैछिनमा बने भाइरल

महेन्द्रनगर । सुदूरपश्चिमको जेठो नगरपालिका कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिकाका मेयर सुरेन्द्र विष्टले उपमेयर सुशीला चन्द सिंहलाई अपमान गरेका छन् ।

शनिबारकाे नगरपरिषदको बैठकमा मेयर विष्टले मेयर र उपमेयर बस्नको लागि कुर्सीहरू ठूलो र सानो बनाएर विभेद गरेका हुन् । मेयर विष्टको हर्कतले उनलाई मतदान गरेर जिताएका मतदाताहरूको मनमा ठेस पु-याएको छ ।

नेकपाकै नेता तथा कार्यकर्ताहरूले मेयर विष्टको हर्कतको विरोध गर्दै तस्वीरलाई सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

पूर्वएमाले पृष्ठभूमि भएका मेयर विष्ट अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कञ्चनपुरका नेतापनि हुन् । उपमेयरमा विजयी भएकी सिंह नेपाली कांग्रेस निकटकी हुन् ।

राजनीतिक पूर्वाग्रही र महिला भएकै कारण मेयर विष्टले उपमेयर सिंहलाई सानो कुर्सीमा बसालेको चर्चा कञ्चनपुरमा भएको छ । नगरपारिषदको बैठकमा मेयर विष्ट अग्लो र ठूलो कुर्सीमा बसेका छन् । उपमेयर सिंहलाई सानो र होँचो कुर्सीमा राखिएको छ ।

सुनसरी जिल्लाको ईटहरी उप–महानगरपालिकाका मेयर द्वारिकालाल चौधरीको काण्ड सेलाउन नपाउँदै कञ्चनपुर जिल्लाको भीमदत्तनगर नगरपालिकाका मेयर विष्टको चर्तिकला बाहिरिएको छ । मेयर विष्टलाई राजा बन्ने ईच्छा पलाएको चर्चा हुन थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीले सेवा सुविधाका साथै ‘मेरो सरकार’ भन्नेसम्मका गतिविधि गरिरहेकै बेला उनका कार्यकर्ताहरूले समेत त्यस्तै कार्य गर्न थालेपछि चिन्ता बढाइदिएको छ ।

स्थानीय तहको निर्वाचनमा विष्टले मेयरमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार पदम बोगटीलाई झिनो मतअन्तर १ सय ६६ मतले पराजित गरेका थिए ।

मेयरमा विजयी तत्कालीन नेकपा (एमाले)का उम्मेद्वार विष्टले ११ हजार ८ सय ३१ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बोगटीले ११ हजार ६ सय ६५ मत प्राप्त गरेका थिए ।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चन्द सिंहले १२ हजार ७ सय ७५ मत प्राप्त गर्दै विजयी भएकी थिइन् । सिंहकी प्रतिद्वन्द्वी एमालेकी माया पन्तले ११ हजार ८ सय ३६ मत प्राप्त गरेकी थिइन् ।

हुन त नेकपाकै मेयर र अध्यक्षहरूले सलामी लिएको विषय पनि यति बेला चर्चामा छ । उनीहरू छोटे राजा बनेको भनेर चर्चा भइरहेका छन् ।

विशेष गरेर नेपाली कांग्रेसका मेयर र अध्यक्षभन्दा पनि एमाले पृष्ठभूमि भएका मेयर र अध्यक्षहरूमा छोटे राजा बन्ने ईच्छा तीब्र रुपमा पालाएको चर्चा हुन थालेको छ ।

Published : Tuesday, 2019 June 25, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया