कांग्रेसलाई पेल्न खोजेपछि नारावाजी, संसदमा हँगामा, ओली रिसाए

काठमाडौं । नेपाली कांग्रेसलाई संसदमा बोल्न समय नदिएपछि रोष्टम घेराउ भएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मंगबारको संसद बैठक शुरु हुनेवित्तिकै उभिएर बोल्न समय माग गरेका थिए । नेपाली कांग्रेसले गुठी विधेयक र आन्दोलन तथा अन्य समसायिक विषयमा कुरा राख्न खोजेको थियो ।

सभापति कृष्णबहादुर महराले प्रमुख विपक्षी दल नेपाली कांग्रेसको कुरा नसुनेर प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सिधै बोल्न समय दिएका थिए । ओलीलाई समय नदिँदै नेपाली कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानमा उभिएर बोल्न समय माग गरेका थिए ।

कांग्रेसले समय माग गरेर आ–आफ्नो स्थानमा उभिएको देख्दादेख्दै पनि प्रधानमन्त्री ओली रोष्टममा पुगेर बोल्न खोजेका थिए । ओली र महराले पेलेरै जान खोजेपछि नेपाली कांग्रेसका सांसदहरूले रोष्टम अगाडि पुगेर नारावाजी र घेराउ गरेका थिए ।

कांग्रेसलाई समय नदिएर सभामुख महराले प्रधानमन्त्री ओलीलाई समय दिएपछि विवादले उग्ररुप लिएको थियो ।

नेपाली कांग्रेसको विरोध हुँदाहुँदै ओली रोष्टममा पुगेर बोल्ने प्रयास गरेका थिए । तर, यस पटक ओली बोलेनन् । ओली कांग्रेसको विरोधप्रति रिसाएका थिए ।

नेपाली कांग्रेसले रोष्टम नजिकै पुगेर नारावाजी गरिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले टेबुल ठोकेर नेपाली कांग्रेसको विरोध गरेका थिए ।

कांग्रेसले अडान नछाडेपछि ओलीले संसदमा बोल्न पाएनन् । बोल्न नपाएपछि प्रधानमन्त्री ओली रिसले चुर हुँदै रोष्टमबाट तल झरेका थिए ।

ओली रोष्टमबाट तल झरेर नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हात मिलाउँदै संसद बैठकबाट बाहिरिएका छन् ।

संसद अबरोध भएपछि सभामुख महराले बुधबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।

Published : Tuesday, 2019 June 18, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया