हतियारसहित नेपाल छिरे भारतीय प्रहरी, पाता कस्न स्थानीयको माग

काठमाडौं । बर्दी र हतियारसहित नेपाल प्रवेश गरेका चार जना भारतीय सुरक्षाकर्मीलाई नेपाल प्रहरीले अछाम जिल्लामा पक्राउ गरेको छ ।

अछाम जिल्लाको बान्नेगढी गाउँपालिका ४ मा हतियारसहित नेपाल आएका चार जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीयले हतियारसहित नेपाल प्रवेश गरेका भारतीय प्रहरीलाई पाता कसेर कारबाही गर्न माग गरेका छन् ।

नेपाल युवक पक्राउ गर्न चार जना भारतीय प्रहरी अछाम जिल्लामा बर्दीसहित आएका हुन् । भारतीय यवतीलाई भगाएर ल्याएका नेपाल युवकलाई पक्राउ गर्न आएका चार भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पक्राउ गरिएको छ ।

पूर्व गृहमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य भीम रावल गृहजिल्लामै रहेका बेला भारतीय प्रहरी गाउँ पसेको र नेपालीलाई पक्राउ गरेर लैजान लागेको थाहपाएपछि उनले गृहसचिव प्रेमकुमार राईलाई फोन गरेर कसको अनुमतिले भारतीय प्रहरी बर्दीसहित नेपाल आएको भनेर सोधेका थिए ।

गृहसचिव प्रेमकुमार राईले अछामका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भारतीय प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

नेकपाका नेता रावलले अछाम जिल्लामा चार जना भारतीय प्रहरी प्रवेश गरेको बारेमा गृहसचिव राईसँग जानकारी माग गरेका थिए । त्यसपछि राईले उनीहरूलाई पक्राउ गर्न निर्देशन दिएका हुन् ।

१५ वर्षीय किशोरीलाई भगाएर ल्याएको निहुँमा भारतीय प्रहरी नेपाली भूमिमा आएको अछाम जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

विना अनुमति भारतीय प्रहरीलाई नेपाल आउने अधिकार छैन । नेपालमा अपराधी लुकेको भए त्यसलाई लैजाने कानूनी प्रकृया छ ।

इन्टरपोल मार्फत खबर गरेपछि नेपाल प्रहरीले त्यसलाई खोजवीन गर्छ । तर नेपालमा खुलेआम भारतीय प्रहरी आएर नेपालीहरूको घर खानतलासी गरेपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।

केही दिन अघि मात्रै पशुपतिनाथको दर्शन गर्न भन्दै हतियारसहित आएका ६ जना भारतीय प्रहरीलाई हेटौंडाबाट नेपाल प्रहरीले रक्सौल पठाएको थियो ।

नेपाल भारत सीमा क्षेत्रमा भने भारतीय प्रहरीहरू निर्वाध रुपमा आवत जावत गर्ने गरेका छन् ।

Published : Tuesday, 2019 June 18, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया